मधेसका ५ जिल्लामा देउवा पक्षका संयोजक तोकिए


काठमाडौँ । समानान्तर महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले मधेस प्रदेशका पाँच जिल्लामा संयोजक तोकेको छ ।

पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई महाधिवेशन आयोजकको जिम्मेवारी दिएर समानान्तर महाधिवेशनको तयारी गरिरहेको समूहले यसअघि ५५ जिल्लामा संयोजक तोकिसकेको जनाएको छ ।

समूहको सम्पर्क कार्यालयका अनुसार डा. कोइरालाको हस्ताक्षरमा सप्तरीमा सुरेन्द्र यादव, सिरहामा सन्तोषकुमार चौधरी, धनुषामा कोमलकान्त झा, बारामा राजेश राय यादव र पर्सामा विजय कर्णलाई जिल्ला संयोजक तोकिएको हो ।

सम्बन्धित जिल्लाका संयोजकलाई जिम्मेवारीसहितको पत्रसमेत प्रदान गरिएको सम्पर्क कार्यालयले जनाएको छ ।

देउवा समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।