इन्द्रसरोवरमा पानीको सतह बढ्दै, १५२७ मिटर पार हुँदा पनि साइरन बजेन


हेटौँडा । मकवानपुरको इन्द्रसरोवर ताल (कुलेखानी)मा पानीको सतह १५२७ मिटर नाघेको छ । तर, जोखिम नरहेको भन्दै साइरन भने बजाइएको छैन ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल तालमा पानीको सतह १५२७.०५ मिटर पुगेको छ । पानीको तह प्रतिघण्टा करिब २ सेन्टिमिटरका दरले बढिरहेको भए पनि तत्काल जोखिमको अवस्था नरहेको प्राधिकरणले जनाएको छ ।

वर्षा रोकिएको र आगामी दिनमा ठूलो वर्षाको सम्भावना नरहेको तथा मौसम सफा रहने अवस्थाका कारण साइरन नबजाइएको प्राधिकरणको भनाइ छ । जोखिम नभएको अवस्थामा साइरन बजाएर सर्वसाधारणलाई आतंकित पार्न आवश्यक नरहेको प्राधिकरणले जनाएको छ ।

यसैबीच, कुलेखानी तालमुनिबाट हेटौँडा–काठमाडौँ आवतजावत गर्ने सडकमा यातायात सञ्चालन भइरहेको मकवानपुर ट्राफिक प्रहरीले जनाएको छ ।

तालको पानीको सतह र मौसमको अवस्था निरन्तर निगरानीमा राखिएको सम्बन्धित निकायले जनाएको छ ।