कैलाली । नातिको पास्नी भोजमा भएको विवादले कैलालीमा गम्भीर अपराधको रूप लिएको छ । चुरे गाउँपालिका–१ निगालीमा पास्नी भोजका क्रममा कुटपिटबाट एक जनाको मृत्यु भएपछि घटना लुकाउन शव भीरबाट फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गत असोज ५ गते राति स्थानीय ५२ वर्षीय यज्ञबहादुर बोहरा आफन्त धनबहादुर बोहराको नातिको पास्नी भोजमा सहभागी भएका थिए । भोजका क्रममा मदिरा सेवन गरिरहेका बेला अघिल्लो दिन श्रीमतीलाई गाली गरेको विषयलाई लिएर यज्ञबहादुर र मानबहादुर बोहराबीच विवाद भएको प्रहरीले जनाएको छ ।
विवाद बढ्दै गएपछि मानबहादुरले यज्ञबहादुरमाथि कुटपिट गरेको र कुटपिटबाट उनी अचेत भई घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
घटनापछि कानुनी कारबाहीबाट बच्न केही व्यक्तिले यज्ञबहादुरको शवलाई तुलिखेत जंगलको भीरमा लगेर फालेको प्रहरीको भनाइ छ । पक्राउ परेका केही व्यक्तिले समेत फस्ने डरले शव भीरमा लगेर फालेको बयान दिएको प्रहरीले जनाएको छ ।
कुटपिटपछि यज्ञबहादुर अचेत अवस्थामा रहेको भिडियोसमेत सार्वजनिक भएको छ । भिडियोमा एक व्यक्तिले आफू जेल जानुपर्ने भन्दै बोलेको र अर्का व्यक्तिले गलत काम भएको प्रतिक्रिया दिएको सुनिने प्रहरीको भनाइ छ ।
यज्ञबहादुर बेपत्ता भएपछि खोजी गर्ने क्रममा उनको शव भीरमा फेला परेको थियो । त्यसपछि मृतकका छोराले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीले पास्नी भोजका घरमुली धनबहादुर बोहरासहित आठ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनबहादुर बोहरा, मानबहादुर बोहरा, गोविन्द बोहरा, यज्ञबहादुर बोहरा, दिलीप धामी, रामबहादुर बोहरा, गम्भीर बोहरा र तिलक जेठारा रहेका छन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरा सिंह महराका अनुसार पक्राउ परेका आठै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । कुटपिटमा दुई जना मुख्य दोषी देखिए पनि शव फाल्ने तथा प्रमाण नष्ट गर्ने कार्यमा अन्यको संलग्नताबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





















प्रतिक्रिया