काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो तथा परिवारको जिउज्यानको सुरक्षामा चुनौती थपिएको भन्दै प्रहरीसँग सुरक्षा व्यवस्था मिलाइदिन माग गरेका छन् ।
राणाका तर्फबाट उनका छोरा सचिन्द्रशमशेर जबराले २०८१ असोज ११ गते काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा लिखित निवेदन दर्ता गराएका हुन् ।
निवेदनमा देशको पछिल्लो अवस्था तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा शान्ति सुरक्षासँग सम्बन्धित विषयहरू उठिरहेको भन्दै आफू र परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख गरिएको छ ।
यस्तै, पूर्वप्रधानन्यायाधीशका रूपमा कार्यरत रहँदा गरेका न्यायिक निर्णय तथा राज्यका विभिन्न निकायमा निर्वाह गरेको जिम्मेवारीका कारण समेत थप असुरक्षा महसुस भएको निवेदनमा जनाइएको छ ।
‘मेरो सम्पूर्ण विवरण राज्यका सुरक्षा निकायहरूलाई जानकारी नै छ। त्यसैले मेरो निवास, परिवार तथा मेरो जिउज्यानको सुरक्षामा राज्यको सम्पूर्ण ध्यान पुगोस्,’ निवेदनमा भनिएको छ ।
राणाले आफ्नो तथा परिवारको सुरक्षाका लागि आवश्यक थप सुरक्षा व्यवस्था मिलाउन प्रहरी प्रशासनसँग आग्रह गरेका छन् ।


















प्रतिक्रिया