काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता तथा सांसद पद्मा अर्यालले हालैको बाढी, पहिरो र डुबानबाट भएको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै अर्यालले विपद्का कारण देशका विभिन्न स्थानमा जनजीवन अस्तव्यस्त भए पनि उद्धार, राहत र पुनःस्थापनामा सरकारको उपस्थिति प्रभावकारी हुन नसकेको बताइन् ।
उनले भदौ १० गतेको भोटेकोशी बाढीदेखि पछिल्ला दिनमा विभिन्न क्षेत्रमा आएको बाढीपहिरोले बस्ती, सडक र पुलमा ठूलो क्षति पुर्याएको उल्लेख गरिन् । विपद्का कारण नागरिकले ज्यान गुमाउनुका साथै धेरै बेपत्ता र हजारौँ विस्थापित भएको भन्दै उनले तत्काल उद्धार र राहतमा जोड दिइन् ।
‘विपद्को यो घडीमा सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा र तत्काल उद्धार–राहत हुनुपर्ने हो। तर, अवस्था भने निकै निराशाजनक छ,’ उनले भनिन् ।
अर्यालले स्याङ्जाको मिर्मि र गुल्मीको हर्मिचौर जोड्ने मोटरेबल पुल बाढीले बगाएको उदाहरण दिँदै यस्ता संरचनाको दीर्घकालीन सुरक्षाका लागि सरकारले राष्ट्रिय गुरुयोजना बनाउनुपर्ने बताइन् ।
उनले विपद् व्यवस्थापनसँग सम्बन्धित कानुनी अड्चन तत्काल हटाउँदै राहत, सुरक्षित आवास र खानपानको व्यवस्था गर्न सरकारसँग आग्रह गरिन् । साथै, क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा सञ्चार संरचना तत्काल पुनःस्थापना गर्न र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिइन् ।


















प्रतिक्रिया