काठमाडौँ । नेकपा एमालेले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ प्रकरणलाई लिएर सरकारको कार्यशैलीप्रति आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको आकस्मिक समयमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले जबरालाई असोज १० गते राति निवासबाट पक्राउ गरिएको घटनाले सरकारको कार्यशैली र विधिको शासनमाथि प्रश्न उठाएको बताए ।
महरले पूर्वप्रधानन्यायाधीशजस्तो सम्मानित पदमा बसेका व्यक्तिलाई मध्यरातमा पक्राउ गरिएको भन्दै यसलाई ‘राज्य आतङ्क र बर्बर नमुना’ भएको टिप्पणी गरे । उनका अनुसार कानुनी कारबाही आवश्यक भए पनि त्यसका लागि तथ्य, प्रमाण र स्पष्ट कानुनी प्रक्रिया अपनाइनुपर्छ ।
उनले सरकार गठन भएयता पूर्वपदाधिकारीहरूलाई पक्राउ गर्ने शैलीप्रति समेत प्रश्न उठाए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानन्यायाधीशसम्मलाई मध्यरातमा पक्राउ गर्ने कार्यले सरकारको लोकतान्त्रिक चरित्रमाथि प्रश्न उठाएको उनको दाबी थियो ।
महरले कानुन उल्लङ्घन गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्नेमा एमालेको विमति नरहेको बताए । तर, तथ्य र प्रमाणबिना तथा प्रतिशोध वा पूर्वाग्रहका आधारमा गरिने पक्राउले विधिको शासन कमजोर बनाउने उनको भनाइ थियो ।
उनले नागरिकको मान–मर्यादा, व्यक्तिगत स्वतन्त्रता र मानवअधिकारको सम्मान गर्दै कानुन कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे । कानुनभन्दा माथि कोही नभए पनि कानुनी कारबाहीको प्रक्रिया लोकतान्त्रिक र विधिसम्मत हुनुपर्नेमा महरले जोड दिए ।


















प्रतिक्रिया