जबराको सुरक्षा नियन्त्रणप्रति नेपाल बारको गम्भीर आपत्ति


काठमाडौँ । नेपाल बार एसोसिएसनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा चुनौतीको कारण देखाउँदै असोज १० गते मध्यरातमा नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाएको छ ।

नेपाल बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले सोमबार जारी गरेको विज्ञप्तिमा पर्याप्त आधार र कारणबिना कुनै पनि नागरिकलाई नियन्त्रणमा लिनु संविधान, कानुनी शासन र लोकतान्त्रिक प्रणालीविपरीत हुने उल्लेख गरिएको छ ।

बारले जबरालाई नियन्त्रणमा लिइएको घटनालाई ‘रहस्यमय र सन्देहात्मक’ भनेको छ । साथै, राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिलाई समेत जबरासँग भेटघाट गर्न नदिइएको विषयले घटनाको गम्भीरता थप बढाएको बारको भनाइ छ ।

विज्ञप्तिमार्फत नेपाल बारले सरकार स्वेच्छाचारी र अनुदारवादतर्फ उन्मुख भएको आरोप लगाउँदै विचार तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध हुने गतिविधिको विरोध जनाएको छ । आधार, कारण र प्रमाणबिना नागरिकलाई पक्राउ वा नियन्त्रणमा नलिन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराइएको छ ।

न्यायपालिकामा हुने विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध आफूहरू निरन्तर न्यायिक सुशासनको पक्षमा रहेको बारले जनाएको छ । सरकार, राजनीतिक नेतृत्व वा न्यायपालिकाका पूर्वपदाधिकारीबाट न्यायपालिकाको स्वच्छता र स्वतन्त्रतामा हुने हस्तक्षेपको प्रतिवाद गर्ने पनि बारले स्पष्ट पारेको छ ।

बारले विचाराधीन मुद्दामा सेवानिवृत्त प्रधानन्यायाधीश, न्यायाधीश वा अन्य व्यक्तिले हस्तक्षेप, चासो वा छलफल नगर्न कानुन तथा आचारसंहिताको पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

त्यस्तै, संवैधानिक इजलास वरिष्ठता वा गोलाप्रथाका आधारमा गठन गर्ने व्यवस्था अविलम्ब लागू गर्न प्रधानन्यायाधीशसमक्ष पुनः आग्रह गर्दै न्यायपालिकाको स्वच्छता र शुद्धताका लागि चालिने कदममा आफ्नो साथ रहने बारले जनाएको छ ।