बाढीपहिरोले बन्द राजमार्ग दसैँअघि सञ्चालनमा ल्याउने सरकारको तयारी


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बाढीपहिरोका कारण अवरुद्ध भएका मुख्य राजमार्गहरू दसैँअघि नै सञ्चालनमा ल्याउने बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले चाडपर्वमा यातायात व्यवस्थापन, पोडवे परियोजना तथा तौल पुललगायतका विषयमा उठाएका प्रश्नको जवाफ दिँदै सचिव सिग्देलले यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार पछिल्लो बाढीपहिरोबाट कालीगण्डकी करिडोर, पृथ्वी राजमार्ग, त्रिभुवन राजमार्गलगायतका सडकमा क्षति पुगेको छ। सडक खुलाउन मन्त्रालयले पूर्ण क्षमतामा काम गरिरहेको भन्दै उनले पृथ्वी राजमार्ग २४ घण्टाभित्र र बीपी राजमार्ग दसैँअघि नै सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए।

चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवसायीसँग समन्वय गरी अग्रिम टिकट बुकिङ तथा अनुगमनलाई प्रभावकारी बनाउने तयारी भइरहेको उनले जानकारी दिए। स्मार्ट ट्राफिक व्यवस्थापनका लागि प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिइने उनको भनाइ छ।

पोडवे परियोजनाबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सचिव सिग्देलले विदेशी लगानीलाई सरकारले स्वागत गर्ने तर अनुमतिपत्र लिएर लामो समयसम्म काम नगर्ने प्रवृत्तिलाई निरुत्साहित गरिने बताए। पोडवे पूर्ण रूपमा परीक्षण भइसकेको प्रविधि नभए पनि विश्वसनीय लगानीकर्ता आए परियोजनालाई स्वागत गर्न तयार रहेको उनले बताए।

यसैगरी, रामनगरमा लामो समयदेखि बिग्रिएको तौल पुल (वे–ब्रिज) मर्मतको काम एक साताभित्र सम्पन्न गर्ने प्रतिबद्धता सचिव सिग्देलले जनाएका छन्। उनका अनुसार तौल पुलमा ६५० को आई–बिम राखेर मर्मत गरिनेछ।

समितिले भौतिक पूर्वाधारसँग सम्बन्धित विषयमा थप अध्ययन तथा अनुगमन आवश्यक रहेको निष्कर्ष निकाल्दै उपसमितिमार्फत अनुगमन गर्ने निर्णयसमेत गरेको छ।