काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले मधेसको विकास र समृद्धिका लागि काम अघि बढाएको दाबी गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कर्णले मधेसमा पूर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा नीतिगत पहल अघि बढेको बताए। लामो समयदेखि अलपत्र रहेको कमला–कञ्चनपुर सडकखण्डको निर्माणले अहिले गति लिएको र निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ थियो।
‘प्रधानमन्त्री बालेन साहको नेतृत्वमा मधेसमा समृद्धिको राजनीति सुरु भएको छ। शिक्षा, स्वास्थ्य र पूर्वाधारमा सरकारले आमूल परिवर्तनको सुरुवात गरेको छ,’ उनले भने।
कर्णले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा पेस हुन लागेकोमा खुसी व्यक्त गर्दै मेडिकल तथा इन्जिनियरिङ कलेज सञ्चालनको तयारी सकारात्मक भएको बताए। जनकपुरमा रामजानकी रंगशाला निर्माणका लागि बजेट सुनिश्चित गरेकोमा उनले सरकारलाई धन्यवादसमेत दिए।
विकासका कामसँगै मधेसले बाढी र वन्यजन्तुको समस्या पनि सामना गरिरहेको उनले सदनलाई जानकारी गराए। तीन दिनदेखिको अविरल वर्षाका कारण सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्याएको उनले बताए।
‘५०० भन्दा बढी घर डुबानमा परेका छन्, नागरिकहरू निकै पीडामा छन्,’ कर्णले भने। उनका अनुसार सप्तकोशी नगरपालिकाको कमलपुर र कञ्चनरूप नगरपालिकाको बस्तीपुरमा हात्तीको आतङ्कका कारण किसानका बालीनालीमा समेत क्षति पुगेको छ।
उनले बाढी प्रभावित नागरिकको तत्काल उद्धार तथा राहत र हात्ती आतङ्कबाट बालीनाली गुमाएका किसानलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए।



















प्रतिक्रिया