विपक्षीलाई खगेन्द्र सुनारको प्रश्न : ‘गिरीबन्धु टी खाएपछि कन्फिडेन्स आउँछ ?’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रधानमन्त्री बालेन शाहको संयुक्त राष्ट्र संघको महासभा सम्बोधनलाई लिएर विपक्षी दलका नेताहरूले गरेको टिप्पणीप्रति कटाक्ष गरेका छन्।

विपक्षी दलका केही नेताहरूले महासभामा सम्बोधन गर्दा प्रधानमन्त्री शाहमा आत्मविश्वास (कन्फिडेन्स) नदेखिएको टिप्पणी गरेपछि सांसद सुनारले त्यसको जवाफ दिँदै कन्फिडेन्स कसरी आउँछ भन्ने प्रश्न गरेका हुन्।

उनले व्यङ्ग्य गर्दै भने, ‘घिउ खाएपछि जिउमा बल आउँछ भन्ने सुनेको थिएँ, तर के खाएपछि कन्फिडेन्स आउँदो रहेछ, हामी सुन्न चाहन्छौँ।’

त्यसपछि सुनारले विपक्षी दलका नेताहरूसँग जोडिएका विभिन्न विवाद र प्रकरणको प्रसंग उठाउँदै व्यङ्ग्य गरे। उनले गिरीबन्धु टी, सुन, लडाकु शिविर, वाइडबडी, बालुवाटार र पासपोर्टलगायत विषयको नाम लिएर प्रश्न उठाएका हुन्।

‘ग्रिन टी खाएपछि आउँछ कि गिरीबन्धु टी खाएपछि आउँछ त्यो कन्फिडेन्स ? त्यो सुन खाएपछि आउँछ क्विन्टल–क्विन्टलमा, कि लडाकुको शिविरको पसिना र खुन खाएपछि आउँछ ? वाइडबडी खाएपछि आउँछ कि बालुवाटार खाएपछि आउँछ ? पासपोर्ट खाएपछि आउँछ कि गरिबका, सुकुम्वासीका लालपुर्जा खाएपछि आउँछ ?’ उनले भने।

सांसद सुनारले आफूहरू कन्फिडेन्सको स्रोतबारे विपक्षी नेताहरूको जवाफ सुन्न तयार रहेको बताए। प्रधानमन्त्री शाहको अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुतिलाई लिएर गरिएको टिप्पणीको प्रसंगमा उनले यस्तो व्यङ्ग्य गरेका हुन्।