मन्त्रालयको नाम फेर्न मन्त्री सीता वादीले संसद्‍मा ल्याइन् विधेयक


काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले मन्त्रालयको नाम परिमार्जन गर्नेसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस गरेकी छन्।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा मन्त्री वादीले ‘मन्त्रालयको नाम परिवर्तनसम्बन्धी नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गरेकी हुन्। मन्त्रालयको नाममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचानलाई स्पष्ट रूपमा समेट्न आवश्यक रहेको भन्दै सरकारले विधेयक अघि बढाएको हो।

मन्त्री वादीका अनुसार नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ बमोजिम मन्त्रालयको कार्यक्षेत्रलाई थप स्पष्ट पार्न तथा विद्यमान विभिन्न ऐनमा उल्लेख भएको मन्त्रालयको नामलाई परिमार्जन गर्न कानुनी संशोधन आवश्यक परेको हो।

विधेयक प्रस्तुत गर्नुअघि सभामुखले त्यसलाई सदनमा पेस गर्ने अनुमति माग्ने प्रस्ताव प्रतिनिधि सभासमक्ष राखेका थिए। प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम उक्त प्रस्तावमाथि कुनै पनि सांसदबाट विरोधको सूचना नआएपछि सभामुखले विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए।

प्रस्तावित संशोधनअनुसार अब मन्त्रालयको नाम ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय’ कायम हुनेछ।

यसअघि मन्त्रालयको नाममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्पष्ट पहिचान समावेश थिएन। विधेयक पारित भएपछि सम्बन्धित ऐनहरूमा रहेको मन्त्रालयको पुरानो नामसमेत परिमार्जन हुने व्यवस्था प्रस्ताव गरिएको छ।

सरकारले मन्त्रालयको नाममा उक्त समुदायको पहिचान समेट्नु समावेशी प्रतिनिधित्व र मन्त्रालयको कार्यक्षेत्रलाई स्पष्ट बनाउने उद्देश्यसँग जोडिएको जनाएको छ। अब विधेयक प्रतिनिधि सभाको विधायी प्रक्रियाअनुसार अघि बढ्नेछ।