काठमाडौँ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद्बारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापति चयनका लागि बुधबार निर्वाचन हुने भएको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले बुधबार दिउँसो २ बजे समितिको सभापति चयनका लागि निर्वाचन हुने जानकारी गराएका हुन्।
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उत्पन्न परिस्थितिको अध्ययन तथा अनुगमन गर्न असोज ५ गते प्रतिनिधिसभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो।
समितिमा अच्युत लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, मिङमाग्याबु शेर्पा, रमेशकुमार मल्ल, रवीन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सिता थपलिया सदस्य छन्।
समितिको कार्यकाल तीन महिनाको तोकिएको छ। समितिलाई हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अध्ययन गर्नुका साथै हिमाली क्षेत्रको तापक्रम, हिमनदी, हिमताल तथा जलाधार क्षेत्रमा भइरहेको परिवर्तन र त्यसबाट उत्पन्न जोखिमको समीक्षा गर्ने जिम्मेवारी दिइएको छ।
त्यस्तै, भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद्को वैज्ञानिक अध्ययन, विपद्को उत्पत्ति र जोखिमका कारकको विश्लेषण तथा सीमापार जलाधारको प्रभावबारे अध्ययन गर्ने कार्यादेश पनि समितिलाई दिइएको छ।
समितिले विपद्का कारण तल्लो तटीय क्षेत्रमा परेको असरको समेत समीक्षा गर्नेछ। अध्ययनका क्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रको वातावरणीय परिवर्तन र त्यसबाट भविष्यमा निम्तिन सक्ने जोखिमबारे समेत समितिले अध्ययन गर्नेछ।
सभापतिको निर्वाचनसँगै समितिले औपचारिक रूपमा आफ्नो काम अघि बढाउने बाटो खुल्नेछ।



















प्रतिक्रिया