चितवन कारागारका ६९ कैदी दीर्घ तथा जटिल रोगबाट पीडित


चितवन । भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना विभिन्न दीर्घ तथा जटिल रोगबाट पीडित रहेको पाइएको छ।

कारागार कार्यालयका अनुसार बिरामी बन्दीमध्ये उच्च रक्तचाप, मधुमेह, क्षयरोग, मानसिक रोग, क्यान्सर तथा एचआईभी/एड्सलगायतका समस्या रहेका छन्। तीमध्ये उच्च रक्तचाप र मधुमेहका बिरामीको संख्या बढी छ।

कारागार कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार हाल ४२ जना बन्दी उच्च रक्तचाप र २२ जना मधुमेहबाट पीडित छन्। त्यस्तै, कारागारमा क्यान्सरका तीन जना बिरामी रहेका छन्।

कारागार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा क्यान्सरका कारण एक जना बन्दीको मृत्यु भइसकेको छ। यसअघि आर्थिक वर्ष २०८२/८३ मा एक जना र २०८१/८२ मा पनि एक जना बन्दीको क्यान्सरका कारण मृत्यु भएको थियो।

ढुङ्गानाका अनुसार हाल क्यान्सरका दुई जना बिरामी कारागारमै रहेका छन् भने एक जना अस्पतालमा उपचाररत छन्। विभिन्न कारागारबाट क्यान्सरपीडित बन्दीलाई उपचारका लागि भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पठाउने गरिएको छ। अन्तिम चरणमा अस्पताल पुग्ने बिरामीको उपचारकै क्रममा मृत्यु हुने गरेको कार्यालयले जनाएको छ।

हाल दीर्घ तथा जटिल रोग भएका दुई जना बन्दी अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन्। उनीहरूमध्ये एक जना क्यान्सर र अर्का एक जना अन्य रोगका कारण अस्पतालमा उपचाररत छन्।

कारागारभित्र रहेका बिरामी बन्दीको नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक औषधोपचार स्वास्थ्यकर्मीबाट हुने गरेको सूचना अधिकारी ढुङ्गानाले बताए। कारागारमा रहेका पाँच जना एचआईभी सङ्क्रमित बन्दीले नियमित रूपमा एआरटी औषधि सेवन गरिरहेका छन्।

हाल चितवन कारागारमा ७१७ पुरुष, ४२ महिला र दुई जना आश्रित नाबालक गरी ७६१ जना रहेका छन्। ठूलो संख्यामा बन्दी रहेको कारागारमा दीर्घ तथा जटिल रोग भएका बन्दीको नियमित उपचार र स्वास्थ्य निगरानीसमेत भइरहेको कार्यालयले जनाएको छ।