काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका छन्। साइबर ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो।
साइबर ब्यूरोका एसपी दिलीप गिरीका अनुसार प्रसाईंमाथि विद्युतीय अपराध ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।
प्रहरी स्रोतका अनुसार प्रसाईं सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा पक्राउ परेका हुन्। प्रसाईंले सामाजिक सञ्जाल तथा युट्युबमार्फत सांसद खतिवडालाई लक्षित गर्दै टिप्पणी गरेको विषयमा उजुरी परेको थियो।
सांसद खतिवडाले उक्त विषय प्रतिनिधिसभामा समेत उठाएकी थिइन्। असोज ६ गते संसद्मा बोल्दै उनले आफूलाई लक्षित गरी गरिएको टिप्पणीप्रति आपत्ति जनाउँदै अनुसन्धान र कारबाहीको माग गरेकी थिइन्।
त्यसपछि खतिवडाले साइबर ब्यूरोमा उजुरी दिएको ब्यूरोका एक अधिकारीले जानकारी दिए। ती अधिकारीका अनुसार प्रसाईंको अभिव्यक्तिबाट सहिदको अपमान भएको र आफ्नो चरित्र हत्या भएको दाबी गर्दै उजुरी परेको थियो।
प्रहरीले पक्राउ परेका प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको छ। उनीमाथि लागेको आरोपबारे अनुसन्धानपछि मात्रै थप कानुनी प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ।
यसअघि पनि प्रसाईं विभिन्न घटनामा पक्राउ पर्दै आएका छन्। जेनजी आन्दोलनअघि र त्यसपछि उनी पटक–पटक प्रहरी नियन्त्रणमा परेका थिए। पछिल्लो समय पनि उनी पक्राउ पर्ने र छुट्ने क्रम दोहोरिँदै आएको छ।
प्रसाईंविरुद्ध यसअघि पनि विभिन्न विषयमा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको थियो। पछिल्लो पक्राउ भने सांसद खतिवडाको उजुरीसँग सम्बन्धित विद्युतीय अपराधको अनुसन्धानका क्रममा भएको प्रहरीले जनाएको छ।



















प्रतिक्रिया