काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मन्त्रालयको नाम परिवर्तनसँगै कार्यक्षेत्र र जिम्मेवारीसमेत विस्तार भएको बताएकी छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बादीले मन्त्रालयको नयाँ जिम्मेवारीबारे जानकारी गराएकी हुन्।
उनका अनुसार नेपाल सरकारको कार्यविभाजन नियमावली, २०८३ बमोजिम यसअघि रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नाम परिवर्तन गरी ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय’ कायम गरिएको छ।
मन्त्री बादीले मन्त्रालयको नाम परिवर्तनसँगै यसको कार्यक्षेत्र पनि फराकिलो भएको बताइन्। यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको सामाजिक सुरक्षा र गृह मन्त्रालयअन्तर्गत रहेको गैर–योगदानमूलक सामाजिक सुरक्षासम्बन्धी कार्य अब आफ्नो मन्त्रालयको जिम्मेवारीमा आएको उनले जानकारी दिइन्।
त्यस्तै, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगसँग सम्बन्धित कामसमेत मन्त्रालयको कार्यक्षेत्रमा समेटिएको उनले बताइन्।
विभिन्न समुदायका विशिष्ट सवाललाई एउटै मन्त्रालयबाट सम्बोधन गर्न सकिने भएकाले नयाँ व्यवस्थाले कामलाई थप सहज बनाउने मन्त्री बादीको भनाइ छ।



















प्रतिक्रिया