काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हिरासतमा राखिएको अवस्थामा आयोगको टोलीलाई भेटघाट तथा अनुगमन गर्न नदिएको विषयमा आयोगले खड्कालाई बयानका लागि बोलाएको हो।
आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेका अनुसार एसएसपी खड्कालाई असोज १३ गते मंगलबार आयोगमा उपस्थित हुन पत्राचार गरिएको छ। आयोगले हिरासत अनुगमनका क्रममा आफ्नो टोलीलाई प्रवेश तथा भेटघाट गर्न नदिइएको विषयमा खड्कासँग सोधपुछ गर्ने जनाएको छ।
आइतबार आयोगका सदस्य मनोज दुवाडीसहित तीन सदस्यीय टोली पूर्वप्रधानन्यायाधीश जबरालाई भेट्न उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको थियो। तर, प्रहरीले टोलीलाई जबरासँग भेट गर्न नदिएपछि आयोगको टोली त्यहाँबाट फर्किएको थियो।
यस घटनाप्रति आयोगले आपत्ति जनाउँदै प्रहरीसँग स्पष्टीकरण मागेको थियो। हिरासतमा रहेका व्यक्तिको मानव अधिकारको अवस्था अनुगमन गर्ने क्रममा आयोगको टोलीलाई रोकिएको विषयलाई आयोगले गम्भीर रूपमा लिएको जनाएको छ।
यसअघि आइतबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुरक्षा जोखिम रहेको भन्दै पूर्वप्रधानन्यायाधीश जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई हिरासतमा राखिएको थियो।



















प्रतिक्रिया