शिक्षामन्त्री पोखरेलसँग रसियाली राजदूत भ्लादिमेरोभिकको भेट


काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि रसियाली राजदूत एलेक्सी भ्लादिमेरोभिकबीच शिष्टाचार भेटवार्ता भएको छ।

सोमबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल–रसिया द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको हो।

भेटवार्तामा शिक्षा, खेलकुद तथा जनशक्ति विकासलगायतका क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको थियो।

मन्त्री पोखरेलले नेपालको जनशक्ति विकासमा रसियाले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै शिक्षा तथा खेलकुदका क्षेत्रमा सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए।

उनले शिक्षा र खेलकुदमार्फत दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन सकिने धारणा राखेका थिए।

भेटमा राजदूत भ्लादिमेरोभिकले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा लगानी गर्न रसिया इच्छुक रहेको बताए। उनले सहकार्यका नयाँ सम्भावना पहिचान गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सकिने धारणा व्यक्त गरे।

भेटवार्तामा शिक्षा, खेलकुद र जनशक्ति विकासका क्षेत्रमा आगामी दिनमा सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्ने विषयमा समेत छलफल भएको थियो।