काठमाडौंमा ग्यास आपूर्ति सहज हुँदै, आज १०५ भन्दा बढी बुलेट भित्रिँदै


काठमाडौं । भदौ १० गतेको विनाशकारी बाढीपछि काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव अब क्रमशः सहज हुने भएको छ।

अविरल वर्षा तथा बाढीपहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएपछि सरकारले काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन ढुवानीलाई प्राथमिकता दिएको हो।

राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा ग्यास बोकेका बुलेटहरू रोकिएका थिए। राजमार्ग खुलेसँगै ती बुलेटलाई प्राथमिकताका साथ काठमाडौं भित्र्याउने व्यवस्था मिलाइएको छ।

नेपाल आयल निगमले समेत ग्यासको आपूर्ति सहज बनाउन आवश्यक समन्वय गरिरहेको जनाएको छ। मुख्य ढुवानी मार्गका रूपमा रहेको पृथ्वी राजमार्ग सञ्चालनमा आएसँगै रोकिएका ग्यास बुलेटहरू काठमाडौं उपत्यकातर्फ पठाउन थालिएको हो।

गत असोज ८ गते रातिदेखि प्रतिकूल मौसम र सडक अवरोधका कारण करिब चार दिनसम्म ग्यास आपूर्ति प्रभावित भएको थियो। सडक सञ्चालनमा आएपछि आपूर्ति प्रणालीलाई नियमित बनाउन सरकार र निगमले ढुवानीलाई प्राथमिकतामा राखेका छन्।

ग्यासका बुलेटहरू क्रमशः काठमाडौं भित्रिन थालेपछि उपत्यकामा देखिएको अभाव कम हुँदै जाने अपेक्षा गरिएको छ।