काठमाडौं । गृहमन्त्री सुधन गुरुङका सचिवालय सदस्यहरूसँग आफ्नो सम्पर्क रहेको दाबी गर्दै अडियो संवाद सार्वजनिक गर्ने एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ मा बस्दै आएका ३७ वर्षीय आशिष मल्ल (धर्मराज मल्ल) रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सामाजिक सञ्जालमा वैयक्तिक प्रतिष्ठा तथा सार्वजनिक मर्यादाविपरीत प्रसारित अडियोबारे सोधपुछ गर्न प्रहरी टोली मल्लको सम्पर्कमा पुगेको थियो। सो क्रममा उनले प्रहरीमाथि गालीगलौज तथा अभद्र व्यवहार गरेको प्रहरीको भनाइ छ।
सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। मल्लविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दुई दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी दानबहादुर थापाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक गरिएको अडियोको विषयवस्तु तथा त्यससँग सम्बन्धित अन्य पक्षबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।



















प्रतिक्रिया