तनहुँ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख इन्स्पेक्टर प्रदीप सुवेदी भदौ महिनाका लागि गण्डकी प्रदेशका उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दीपेन्द्र घर्ती क्षेत्रीले सुवेदीलाई ‘पुलिस अफ द मन्थ’ का रूपमा पुरस्कृत गरेका हुन् ।
भोटेकोशीमा आएको बाढीपछि उद्धार तथा खोजी अभियानमा उनले प्रभावकारी नेतृत्व गर्दै ३८ वटा शव निकाल्ने कार्यको सफल कमाण्ड सम्हालेका थिए । त्यस्तै, फरार प्रतिवादी पक्राउ, जघन्य अपराधको सफल अनुसन्धान तथा समुदायमा प्रहरी जनचेतना अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
डीआईजी घर्तीले हस्ताक्षर गरेको प्रमाणपत्रमा सुवेदीले अपराध अनुसन्धान तथा नियन्त्रणसँगै प्रहरी–समुदाय सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याएको उल्लेख छ ।
२०७४ सालमा प्रहरी सेवामा प्रवेश गरेका इन्स्पेक्टर सुवेदीले यसअघि धनुषास्थित इलाका प्रहरी कार्यालय ढल्केबरको कार्यालय प्रमुखका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् ।
त्यसैगरी उनले जिल्ला प्रहरी कार्यालय सोलु, काठमाडौंका प्रहरी वृत्त दरबारमार्ग र लैनचौर तथा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।



















प्रतिक्रिया