इलाम–११ बाट १८ वर्षीय अर्जुन धिताल कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित , नेपालकै कान्छा प्रतिनिधि बने धिताल


इलाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत इलाम नगरपालिका–११, सोयाकबाट १८ वर्षीय अर्जुन धिताल क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्। धितालले आफूलाई इलाम जिल्लाकै कान्छा क्षेत्रीय प्रतिनिधि तथा नेपालकै कान्छा क्षेत्रीय प्रतिनिधिमध्ये एक भएको बताएका छन्।

कक्षा १ देखि १० सम्म इलाममै अध्ययन गरेका धिताल कक्षा ११ पछिको अध्ययनका लागि झापा आएका हुन्। हाल उनी त्रिदेव बहुमुखी क्याम्पस, चारआलीमा अध्ययनरत छन् र क्याम्पसमा विद्यार्थी राजनीतिमा समेत सक्रिय छन्।

१६ वर्षको उमेरदेखि नेपाल विद्यार्थी संघमा आबद्ध धितालले २०८० र २०८१ मा सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघका उम्मेदवारलाई जिताउन भूमिका निर्वाह गरेको जनाइएको छ। उनी विभिन्न सामाजिक तथा संगठनात्मक गतिविधिमा समेत सक्रिय रहँदै आएका छन्।

क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछि धितालले सामाजिक सञ्जालमार्फत समय र दूरीले उपस्थिति रोक्न सक्ने भए पनि समर्पणलाई रोक्न नसक्ने भन्दै पार्टी, संगठन, समाज र आफ्नो माटोप्रतिको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।