पूर्वप्रधानन्यायाधीश जबराको मोबाइल प्रहरीले झण्डै १२ घण्टा राख्यो


काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएसँगै प्रहरीले उनको मोबाइलसमेत आफ्नो नियन्त्रणमा लिएको पाइएको छ । महाराजगञ्जबाट नियन्त्रणमा लिएर आइतबार बिहान करिब २ बजे टेकुस्थित प्रहरी कार्यालयमा पुर्‍याउँदा उनको मोबाइल प्रहरीले जफत गरेको हो ।

जबरालाई उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी योगराज खतिवडाको नेतृत्वमा रहेको टोलीले नियन्त्रणमा लिएको थियो । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जेनजी युवाबाट जबरामाथि आक्रमण हुनसक्ने सूचना आएपछि सुरक्षाका लागि उनलाई प्रहरी कार्यालयमा ल्याइएको बताएका छन् ।

तर, सुरक्षा प्रयोजनका लागि नियन्त्रणमा लिइएका जबराको मोबाइलसमेत प्रहरीले किन आफ्नो कब्जामा लियो भन्ने विषयमा प्रश्न उठेको छ । करिब १२ घण्टा प्रहरी कार्यालयमा राखिएपछि जबरालाई छाड्ने क्रममा उनको मोबाइल छोरा सचिन्द्रशमशेर जबरालाई जिम्मा लगाइएको थियो । जबरालाई पनि छोरा सचिन्द्रले नै प्रहरी कार्यालयबाट जिम्मा लिएर बाहिरिएका थिए ।

यस क्रममा जबराको मोबाइलमा रहेका विवरण प्रहरीले अनधिकृत रूपमा हेरेको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरी स्रोतका अनुसार अनुसन्धान कार्यालयका एसपी शरत थापा क्षेत्री र डीएसपी योगराज खतिवडाले जबरासँग सोधपुछ गरेका थिए ।

जबराविरुद्ध ‘हेलो सरकार’मा परेको बेनामे उजुरी प्रहरी प्रधान कार्यालय हुँदै टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा पुगेको बताइएको छ । उक्त उजुरी तथा त्यससँग सम्बन्धित विषयमा भने प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

यसैबीच, जबराका छोरा सचिन्द्रले आइतबार नै शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन दिएको पत्रसमेत सार्वजनिक भएको छ । उपत्यका प्रहरी कार्यालयका एआईजी सुशील सिंह राठौरले सचिन्द्रको निवेदन प्राप्त भएको र सोहीअनुसार सुरक्षा व्यवस्थापन गरिएको बताएका छन् ।

जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीशको कार्यभार सम्हालेका थिए । उनीविरुद्ध २०७८ फागुन १ गते संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका थिए । महाअभियोग पारित नभए पनि त्यसपछि उनी सर्वोच्च अदालतमा फर्किन पाएनन् ।