रुपन्देही । ‘हनी ट्रयाप’मा पारेर एक पुरुषबाट नगद तथा जिन्सी सामान असुलेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।
रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौंमा बस्दै आएकी ३० वर्षीया श्रेष्ठ थरकी युवतीलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनी काठमाडौं महानगरपालिका–१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दै आएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता प्रतितसिंह राठोरका अनुसार युवतीले बाँकेको बैजनाथ गाउँपालिका–२ का ३२ वर्षीय पुरुषलाई पूर्वयोजना बनाएर माया–प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
त्यसपछि ती पुरुषलाई विभिन्न मुद्दामा फसाइदिने भन्दै डर, त्रास र धाकधम्की देखाएर पटक–पटक नगद तथा जिन्सी सामान लिएको प्रहरीको दाबी छ ।
प्रहरीले उक्त घटनालाई ‘हनी ट्रयाप’मार्फत आपराधिक लाभ लिने कार्यका रूपमा अनुसन्धान अघि बढाएको जनाएको छ । घटनामा संलग्न युवती केही समयदेखि फरार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई गत असोज ५ गते पक्राउ गरिएको जानकारी सार्वजनिक गरेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।



















प्रतिक्रिया