सम्पत्ति शुद्धीकरण मुद्दा : अमित मोर १ करोड धरौटीमा रिहा हुने


काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी अमित मोरलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

विशेष अदालतको आदेशपछि पुर्पक्षका लागि कारागारमा रहेका मोरलाई सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यस मुद्दाका अन्य प्रतिवादीहरूलाई विशेष तथा सर्वोच्च अदालतबाट यसअघि नै धरौटीमा रिहा गर्ने आदेश भइसकेको उल्लेख गर्दै सर्वोच्चले मोरलाई मात्रै थुनामा राखिरहन न्यायोचित नहुने ठहर गरेको छ ।

यसअघि विशेष अदालतमा मोरलाई पुर्पक्षका लागि थुनामा पठाउने विषयमा न्यायाधीशहरूको राय बाझिएको थियो । तीन सदस्यीय इजलासका दुई न्यायाधीशले पुर्पक्षका लागि थुनामा पठाउने र एक न्यायाधीशले १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने राय दिएका थिए । बहुमतको राय कार्यान्वयन भएपछि मोर कारागार चलान भएका थिए ।

मोर हिमालय रि–इन्स्योरेन्स कम्पनीका सञ्चालक हुन् । कम्पनीले धितोपत्र बजारमा सेयर कारोबारका लागि भृकुटी स्टक (ब्रोकर नम्बर ५५) मार्फत लगानी गर्ने निर्णय गरेको थियो । उक्त निर्णय मोर संलग्न समितिले अनुमोदन गरेको थियो ।

सोही प्रकरणमा मुछिएका कम्पनीका अध्यक्ष शेखर गोल्छा, शुभेच्छा खरेल र राजीव मोर यसअघि नै धरौटीमा रिहा भइसकेका छन् ।

यस्तै, थुनामा पठाइएका अर्का प्रतिवादी रोहित गुप्तालाई पनि सर्वोच्च अदालतले गत भदौ १७ गते धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सोही पृष्ठभूमिमा सर्वोच्चले मोरलाई पनि १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।