न्युयोर्कबाट फर्किए परराष्ट्रमन्त्री, भने– प्रधानमन्त्रीको सम्बोधनले पायो व्यापक चर्चा


काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधन ऐतिहासिक र बहुचर्चित बनेको दाबी गरेका छन्।

न्युयोर्कबाट स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले प्रधानमन्त्रीको सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक छविलाई नयाँ उचाइमा पुर्‍याएको बताए।

उनका अनुसार नेपालको पछिल्लो राजनीतिक परिवर्तनपछि युवा प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहले विश्व मञ्चमा आफू र मुलुकलाई कसरी प्रस्तुत गर्छन् भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायमा सुरुदेखि नै चासो थियो। सम्बोधनपछि विश्वका प्रमुख सञ्चारमाध्यममा प्रधानमन्त्रीको मन्तव्यले प्रमुखता पाएको उनको दाबी छ।

प्रधानमन्त्री शाहको सम्बोधन महासभाका अन्य सम्बोधनमध्ये विश्वभर सबैभन्दा धेरै हेरिएको भिडियो बनेको दाबी गर्दै मन्त्री खनालले त्यसलाई नेपालको कूटनीतिक उपलब्धिका रूपमा व्याख्या गरे।

उनले प्रधानमन्त्रीको सम्बोधन औपचारिकतामा मात्र सीमित नरहेको बताए। विशेषगरी भोटेकोशीमा आएको बाढीलाई ‘हिमालयन सुनामी’का रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्रीले जलवायु सङ्कटका कारण नेपालले भोगिरहेको जोखिम विश्व समुदायसमक्ष उठाएको उनको भनाइ थियो।

महासभाका क्रममा भएका द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तामा विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा परराष्ट्रमन्त्रीहरूले प्रधानमन्त्रीको सम्बोधनको प्रशंसा गरेको पनि मन्त्री खनालले बताए।

‘प्रधानमन्त्रीज्यूको सम्बोधनपछि मसँग भएका दर्जनौँ भेटवार्तामा विदेशी नेता तथा कूटनीतिज्ञहरूले उहाँले उठाउनुभएका विषयको प्रशंसा गर्नुभयो,’ उनले भने, ‘उहाँले उठाउनुभएका मुद्दाप्रति अन्तर्राष्ट्रिय समुदायले ऐक्यबद्धता जनाएको छ।’

प्रधानमन्त्रीको प्रस्तुतिले आगामी दिनमा नेपालको अन्तर्राष्ट्रिय कूटनीतिलाई थप सबल र प्रभावकारी बनाउन आधार तयार गरेको निष्कर्ष पनि मन्त्री खनालले सुनाए।