एआइआइबीको बैठक सकेर नेपाल फर्किए अर्थमन्त्री वाग्ले


काठमाडौँ । एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन्।

कतारको राजधानी दोहामा आयोजित एआइआइबीको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले असोज १० गते कतार गएका थिए। बैठक नेपालका पूर्वाधार विकासमा बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य राष्ट्रबीच सहकार्य बढाउने विषयमा फलदायी भएको उनको सचिवालयले जनाएको छ।

बैठकले अर्थमन्त्री वाग्लेलाई सन् २०२६–२७ का लागि एआइआइबीको गभर्नर परिषद्को उपसभापतिमा निर्वाचित गरेको छ। क्षेत्रीय सदस्य राष्ट्रमध्येबाट नेपाल उपसभापतिमा निर्वाचित भएको हो।

बैठकका क्रममा आयोजित ‘गभर्नर्स बिजनेस राउन्ड टेबल’ मा अर्थमन्त्री वाग्लेले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिलगायत उत्पादनमूलक क्षेत्रमा आवश्यक पुँजीसहित लगानी बढाउनुपर्ने धारणा राखेका थिए।

उनले नेपालजस्ता मुलुकको आवश्यकताअनुसार एआइआइबीको लगानीलाई थप सहुलियतपूर्ण बनाउन, स्वदेशी तथा विदेशी निजी पुँजी आकर्षित गर्न र उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने बताएका थिए।

दोहा भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले एआइआइबीका अध्यक्ष तथा कतार, भारत, बङ्गलादेश, आर्मेनिया र जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार तथा प्राकृतिक विपत्तिपछिको नेपालको पुनर्निर्माणमा सहयोगका विषयमा छलफल गरेका थिए।

नेपाल पहिलोपटक एआइआइबीको उपसभापतिमा निर्वाचित भएसँगै पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा अन्तर्राष्ट्रिय सहकार्यमा थप अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।