पछिल्लो २४ घण्टामा ६३४ चालक ट्राफिक कारबाहीमा


काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६३४ जना सवारी चालक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नियमित चेकजाँच तथा निगरानीका क्रममा उनीहरूलाई कारबाही गरिएको हो।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६० जना, सिसीटिभीमार्फत पहिचान भएका ५३ जना, सवारीसाधनको सङ्केत बत्ती उल्लङ्घन गर्ने २८ जना र तीव्र गतिमा सवारी चलाउने ९३ जना रहेका छन्।

त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने पाँच जना, लेन अनुशासन उल्लङ्घन गर्ने पाँच जना, सवारीसाधनको अवस्था ठीक नभएका १२ जना र एकतर्फी सडकको नियम पालना नगर्ने पाँच जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३७३ जना चालकलाई समेत जरिवानासहित कारबाही गरिएको छ।

ट्राफिक प्रहरीले सडक अनुशासन कायम गराउन नियमित जाँच तथा निगरानीलाई निरन्तरता दिँदै आएको जनाएको छ। प्रहरीले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्दै सुरक्षित रूपमा सवारी चलाउन आग्रह गरेको छ।

ट्राफिक नियमको पालना चालकको जिम्मेवारीसँगै पैदलयात्री तथा अन्य सडक प्रयोगकर्ताको सुरक्षासँग समेत प्रत्यक्ष जोडिएको भन्दै प्रहरीले नियम उल्लङ्घन नगर्न सबैमा अनुरोध गरेको छ।