तातोपानी नाका सञ्चालन गर्न सडक तयार छ : डिभिजन प्रमुख भण्डारी


दोलखा । सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीले तातोपानी नाका सञ्चालनका लागि नेपालतर्फको सडकमा कुनै ठूलो समस्या नरहेको बताएका छन्।

चिनियाँ पक्षले सडकको अवस्था देखाउँदै तातोपानी नाका बन्द गरेपछि नेपालतर्फको सडकको वास्तविक अवस्था बुझ्न चिनियाँ प्राविधिक टोलीसहित विभिन्न सरकारी निकाय र सुरक्षा निकायका प्रतिनिधिले पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका थिए।

अनुगमनका क्रममा भण्डारीले सडकमा सामान्य सुधार आवश्यक रहे पनि त्यसका लागि लामो समय नलाग्ने बताए। उनका अनुसार आवश्यक सुधारको काम एक–दुई दिनमै सम्पन्न गरी नाका सञ्चालनका लागि सडक तयार पार्न सकिन्छ।

उनले वर्षायाममा समेत नेपालतर्फको सडकबाट एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुँदै आएको जानकारी दिए। अहिले वर्षा रोकिएपछि दुईतर्फी सवारी आवागमन सहज बनाउन सडक सुधारको काम अघि बढाइएको उनको भनाइ छ।

‘सडकका कारण गाडी पास नहुने अवस्था छैन। केही सुधार गर्नुपर्ने भए एक–दुई दिनमै गर्छौं,’ भण्डारीले भने, ‘वर्षामा पनि एकतर्फी रूपमा गाडी पास भइरहेका थिए। अहिले दुईतर्फी सञ्चालनका लागि काम भइरहेको छ।’

उनका अनुसार नेपालतर्फको सडक अप्ठ्यारो भएका कारण तातोपानी नाका बन्द भएको भन्ने जानकारी आएपछि वास्तविक अवस्था बुझ्न संयुक्त अनुगमन गरिएको हो। यसबीच ५७ वटा ४५ फिटे कन्टेनर तथा अन्य रोकिएका सवारीसाधनसमेत पास गराइसकिएको उनले बताए।

भण्डारीले नाका सञ्चालनमा आएपछि नेपालतर्फको सडकका कारण सवारीसाधन लामो समय रोकिनुपर्ने अवस्था नरहेको दाबी गरे। सडक विभागका तर्फबाट नेपालतर्फको सडक सवारी सञ्चालनका लागि तयार रहेको उनको भनाइ छ।

कोदारी राजमार्गमा पहिरो गएपछि तातोपानी नाका बन्द रहँदै आएको छ। भदौ १० गतेको बाढीका कारण केरुङ नाका तथा पछिल्लो बाढीपहिरोका कारण मुस्ताङको कोरला नाकासमेत प्रभावित भएपछि चीनसँगको व्यापारिक आवागमनका लागि सरकारले तातोपानी नाका सञ्चालनमा ल्याउन पहल गरिरहेको छ।