२. दोधारा चाँदनी–भीमदत्त जोड्ने पुलको क्षतिप्रति सांसदको ध्यानाकर्षण


काठमाडौँ । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरपालिकालाई जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलमा भएको क्षतिको विषय प्रतिनिधिसभाको बैठकमा उठेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ज्ञानेन्द्रसिंह महताले बुधबार बिहान पुलको एउटा स्पान र बीचको टावर खसेर आवागमन अवरुद्ध भएको विषय सदनमा उठाएका हुन् ।

पुलको स्पान र टावर खसेपछि दोधारा चाँदनी र भीमदत्त नगरबीचको आवागमन प्रभावित भएको भन्दै सांसद महताले घटनाको तत्काल प्राविधिक अध्ययन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले पुलमा एक्कासि क्षति पुग्नुको कारण पहिचान गरी आवश्यक प्राविधिक परीक्षण गर्न सरकारसँग माग गरेका छन् । साथै, क्षतिग्रस्त पुलको अवस्थाबारे तत्काल जानकारी लिएर आवश्यक कदम चाल्नुपर्नेमा उनले जोड दिएका छन् ।

महाकाली नदीमाथिको उक्त झोलुङ्गे पुल दुई स्थानीय तहबीचको आवागमनका लागि महत्वपूर्ण मानिन्छ । पुलमा क्षति पुगेपछि स्थानीयवासीको आवागमनमा समस्या भएको छ ।