चोलेन्द्र पक्राउबारे कांग्रेसको प्रश्न : आयोगका प्रतिनिधिलाई किन भेट्न दिइएन ?


काठमाडौँ । नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुको कानुनी आधार र कारणबारे सरकारसँग जवाफ मागेको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस सांसद नीनुकुमारी कर्णले सुरक्षा चुनौती देखाउँदै जबरालाई नियन्त्रणमा लिएको घटनाले त्यसको कानुनी आधार, कारण र प्रक्रियामाथि प्रश्न उठाएको बताइन्।

उनले सुरक्षा चुनौती रहेको भए राज्यले आवश्यक सुरक्षा व्यवस्था गर्नुपर्ने तर नागरिकको स्वतन्त्रता नियन्त्रणमा लिइएको अवस्थामा त्यसको स्पष्ट कानुनी आधार र प्रक्रिया सार्वजनिक हुनुपर्ने बताइन्।

सांसद कर्णले राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई समेत जबरासँग भेट्न नदिएको विषयमा आपत्ति जनाइन्। उनले नियन्त्रणमा लिइएको व्यक्तिसँग आयोगका प्रतिनिधिलाई भेट्न नदिइनुको कारण सरकारले स्पष्ट पार्नुपर्ने माग गरिन्।

‘कसैको विगतको पद, राजनीतिक धारणा, सार्वजनिक छवि वा विवादसँग हामी सहमत वा असहमत हुन सक्छौँ। तर संविधानले प्रदान गरेको अधिकारको प्रयोग व्यक्ति हेरेर फरक हुनु हुँदैन,’ उनले भनिन्।

कर्णले कुनै व्यक्तिले कसुर गरेको भए निष्पक्ष छानबिन र कानुनी प्रक्रियामार्फत कारबाही हुनुपर्ने बताउँदै राज्य संयन्त्रको दुरुपयोग स्वीकार्य नहुने धारणा राखिन्।

उनले पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिनुको कानुनी आधार, सुरक्षा चुनौतीसम्बन्धी सूचना तथा मानव अधिकार आयोगका प्रतिनिधिलाई भेट्न नदिनुको कारणबारे सरकारले सदनलाई स्पष्ट जवाफ दिनुपर्ने माग गरिन्।