राष्ट्रिय जनमोर्चाका कोषाध्यक्ष क्षेत्रीको नि-धन


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधुकुमार क्षेत्रीको निधन भएको छ। ७१ वर्षीय क्षेत्रीको बुधबार बिहान अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० स्थित आफ्नै निवासमा निधन भएको हो।

केही महिनायता ब्लडक्यान्सरबाट पीडित क्षेत्रीको उपचारका लागि प्रयास गरिए पनि बचाउन नसकिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ। उनको निधनप्रति पार्टी अध्यक्ष चित्रबहादुर केसीले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका छन्।

पार्टीले क्षेत्री राजनीतिक गतिविधिसँगै सांस्कृतिक तथा सामाजिक क्षेत्रमा समेत सक्रिय रहेको उल्लेख गर्दै उनको निधनले राष्ट्रिय जनमोर्चाका साथै नेपालको जनतान्त्रिक तथा परिवर्तनको आन्दोलनमा गम्भीर क्षति पुगेको जनाएको छ।

क्षेत्रीको निधनप्रति नेकपा (मसाल)ले पनि गहिरो दुःख व्यक्त गरेको छ। उनी २०३८ सालमा कम्युनिस्ट पार्टीमा आबद्ध भएका थिए। स्वदेश तथा प्रवासमा पार्टीका विभिन्न जिम्मेवारी सम्हालेका क्षेत्री मसालभित्र ‘कमरेड राहुल’ नामले परिचित थिए। उनी मसालका केन्द्रीय सल्लाहकारसमेत थिए।

महामन्त्री मोहनविक्रम सिंहले जारी गरेको शोक विज्ञप्तिमा क्षेत्रीले इमानदार, कर्मनिष्ठ, प्रतिबद्ध, जुझारु र अनुशासित रूपमा पार्टीको जिम्मेवारी निर्वाह गरेको उल्लेख गरिएको छ।

अन्तिम समयसम्म पनि राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहेका क्षेत्रीको निधनले सांस्कृतिक आन्दोलन, अर्घाखाँचीको कम्युनिस्ट आन्दोलन तथा पार्टीको आन्दोलनमा गम्भीर क्षति पुगेको मसालले जनाएको छ।