उद्धार गरिएको गैँडा सौराहाको जनकौलीमा पुनः प्राकृतिक बासस्थानमा


चितवन । नारायणी नदीको बाढीले बगाएर नवलपरासीको सुस्ता गाउँपालिका–४ पुगेको पोथी गैँडालाई उद्धार गरी चितवन ल्याइएको छ। करिब पाँच वर्षको गैँडालाई उद्धारपछि सौराहास्थित जनकौली सामुदायिक वन क्षेत्रमा छाडिएको हो।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार बाढीले बगाएर सुस्ता पुगेको गैँडाको उद्धारका लागि संरक्षण अधिकृत मधु नेपाली र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. अमित सडौलाको नेतृत्वमा टोली सुस्ता पुगेको थियो।

टोलीले गैँडालाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर ट्रकमार्फत चितवन ल्याएको थियो। चितवन ल्याएपछि आवश्यक प्रक्रिया पूरा गरी गैँडालाई जनकौली सामुदायिक वन क्षेत्रमा छाडिएको निकुञ्जले जनाएको छ।

निकुञ्जका अनुसार हालसम्म बाढीले एउटा गैँडा बगाएको आधिकारिक जानकारी प्राप्त भएको छ। यद्यपि बाढीका क्रममा अन्य गैँडा तथा वन्यजन्तु पनि बगेको हुनसक्ने अनुमान गरिएको छ।

यसअघि २०७४ साल साउन २८ गते राप्ती र नारायणी नदीमा आएको बाढीले पनि केही गैँडा बगाएर भारतीय भू–भाग पुर्‍याएको थियो। तत्कालीन चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. रामचन्द्र कँडेलका अनुसार त्यसबेला भारतीय भू–भाग पुगेका १२ वटा गैँडालाई उद्धार गरी नेपाल ल्याइएको थियो।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन्।