भोटेकोशी बाढीको क्षति : नेपाल टेलिकमको ८ करोड ८५ लाखभन्दा बढी गुम्यो


काठमाडौँ । भोटेकोशी बाढीका कारण नेपाल टेलिकमको मोबाइल, वायरलाइन तथा ब्याकबोन प्रसारण प्रणालीमा ८ करोड ८५ लाख १२ हजार ६८५ रुपैयाँ बराबरको क्षति भएको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले बाढीबाट रसुवा, नुवाकोट र धादिङमा रहेका नेपाल टेलिकमका विभिन्न दूरसञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेको जानकारी दिएका हुन्।

उनका अनुसार ती तीन जिल्लामा रहेका १२० साइटमध्ये ८३ साइटको सेवा बाढीका कारण अवरुद्ध भएको थियो। त्रिशूली–३ ‘बी’, चिलिमे खोला र टिमुरेका तीनवटा साइट भने पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।

पूर्णरूपमा क्षतिग्रस्त तीन साइटबाहेक अन्य अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याइसकिएको मन्त्री तिमिल्सिनाले बताए। तत्काल पुनःस्थापना गर्न नसकिएका साइटमा वैकल्पिक टावर स्थापना गरेर मोबाइल नेटवर्कको पहुँच कायम गरिएको उनले जानकारी दिए।

टिमुरेको टावरमा यही साता हेलिकप्टरमार्फत सोलार प्रणाली जडान गरी सेवा सञ्चालनमा ल्याइएको उनले बताए।

त्यस्तै, रसुवा, नुवाकोट र धादिङमा रहेको ६५ दशमलव ३ किलोमिटर फाइबर नेटवर्कमध्ये ३७ दशमलव ९ किलोमिटर बाढीबाट क्षतिग्रस्त भएको थियो। त्यसमध्ये २७ दशमलव ४ किलोमिटर फाइबर मर्मत भइसकेको मन्त्री तिमिल्सिनाले जानकारी दिए।

वायरलाइन नेटवर्कअन्तर्गत रसुवा र नुवाकोटका तीनवटा ओएलटी पूर्णरूपमा क्षतिग्रस्त भएका थिए। केही एफटीटीएच नेटवर्कमा समेत क्षति पुगेकोमा अधिकांश ओएलटी पुनःप्राप्त गरी सेवा सञ्चालनमा ल्याइएको उनले बताए।

टिमुरे र रसुवागढी क्षेत्रमा फाइबर तथा माइक्रोवेभ प्रणालीमा समेत क्षति पुगेको थियो। हाल फाइबरको विकल्पमा माइक्रोवेभ प्रविधिमार्फत ब्याकबोन प्रसारण सेवा पुनःस्थापना गरिएको मन्त्री तिमिल्सिनाले जानकारी दिए।

दूरसञ्चार सेवा सुधारलाई ‘रूपान्तरण वर्ष’ बनाउने तयारी

मन्त्री तिमिल्सिनाले चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, गुणस्तर सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको बताए।

मोबाइल सेवाको पहुँच विस्तारका लागि नेपाल टेलिकमका नयाँ २०० वटा टावर निर्माणसम्बन्धी बोलपत्र मूल्याङ्कनको चरणमा रहेको उनले जानकारी दिए। त्यस्तै, देशभरका १ हजार ५९७ स्थानमा फोरजी सेवा सञ्चालनका लागि आवश्यक उपकरण खरिदको बोलपत्र प्रक्रिया अघि बढाइएको छ।

विद्युत् आपूर्ति अवरुद्ध हुँदा मोबाइल सेवा प्रभावित नहोस् भनेर टावरहरूमा पावर ब्याकअप क्षमता बढाउने काम भइरहेको मन्त्री तिमिल्सिनाले बताए। पछिल्लो तीन महिनामा सातै प्रदेशका ६०० भन्दा बढी स्थानमा ब्याट्री ब्याकअप परिवर्तन गरिएको उनले जानकारी दिए।

यसबाट विद्युत् अवरुद्ध हुँदा ग्रामीण क्षेत्रमा ८ देखि १० घण्टा र सहरी क्षेत्रमा ४ देखि ६ घण्टासम्म मोबाइल सेवा सञ्चालन गर्न सकिने उनको भनाइ छ। हाल करिब ५०० वटा ब्याट्री मौज्दात रहेको र थप २०० ब्याट्री खरिदका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको मन्त्री तिमिल्सिनाले बताए।

त्यस्तै, ३२ वटा सोलार साइटमा पावर ब्याकअप तथा सोलार प्रणालीको क्षमता वृद्धि गर्ने काम अघि बढाइएको छ। सम्भव भएसम्म त्यस्ता सोलार साइटलाई राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा जोड्न ऊर्जा मन्त्रालयसँग समन्वय भइरहेको उनले जानकारी दिए।

मन्त्री तिमिल्सिनाले दूरसञ्चार पूर्वाधारमा हुने चोरी तथा तोडफोडका कारण समेत सेवा प्रभावित हुने गरेको बताए। टावरका ब्याट्री, उपकरण तथा तार चोरी गर्ने र पूर्वाधारमा क्षति पुर्‍याउने व्यक्तिमाथि कडा कारबाही गरिने उनले बताए।