संसदीय विशेष समितिको नेतृत्वमा गणेश पराजुली


काठमाडौँ । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली निर्विरोध निर्वाचित भएका छन्।

समितिको आज बसेको पहिलो बैठकले पराजुलीलाई सभापतिमा चयन गरेको हो। सभापतिका लागि पराजुलीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

यसअघि असोज ५ गते बसेको बैठकले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो। समितिलाई हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा भएका विपद्सम्बन्धी विषयमा अध्ययन तथा आवश्यक पहल गर्ने जिम्मेवारी दिइएको छ।

समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, मिङमाग्याबु शेर्पा, रमेशकुमार मल्ल, रविन्दै पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य रहेका छन्।

१५ सदस्यीय समितिले जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा परेको प्रभाव तथा पछिल्लो समय भोटेकोशी र त्रिशूली क्षेत्रमा भएका विपद्का विषयमा अध्ययन गरी आवश्यक सुझाव र पहल अघि बढाउनेछ।