काठमाडौँ । प्रतिनिधिसभाले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमाथि छलफलपछि सभाले सर्वसम्मतिले विधेयक पारित गरेको हो।
विधेयक प्रस्तुत गर्दै मन्त्री पुनले डिएनए परीक्षणलाई थप तीव्र, प्रभावकारी र विश्वसनीय बनाउन तथा विधि विज्ञानसम्बन्धी सेवा प्रदेशस्तरसम्म विस्तार गर्न विधेयक आवश्यक परेको बताए।
उनका अनुसार विधेयकमा प्रयोगशालाबाट प्राप्त हुने तथ्यांक तथा संवेदनशील विवरण अनधिकृत रूपमा बाहिरिन नदिन आवश्यक व्यवस्था गरिएको छ। मन्त्री पुनले विधेयकमाथि सांसदहरूले यसअघि दफावार रूपमा विस्तृत छलफल गरिसकेको जानकारीसमेत दिए।
विधेयकमाथिको छलफलमा सांसदहरू शोभा खनाल, बसुमाया तामाङ, मञ्जु भुसाल, गङ्गालक्ष्मी अवाल, सुशीला ढकाल आचार्य, टेकबहादुर शाक्य, प्रमिला कुलुजू, हरिमोहन भण्डारी, जनकसिंह धामी, पुकार बम, नीता घतानी, एशुदाकुमारी बराल, गुरूप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, साजिदा खातुन सिद्धिकी र लेखजङ्ग थापाले भाग लिएका थिए।
सांसदहरूले विधि विज्ञान प्रयोगशालाको सेवा र क्षमता विस्तार, डिएनए परीक्षणलाई प्रभावकारी बनाउने तथा वैज्ञानिक अनुसन्धानका लागि आवश्यक पूर्वाधार विकासमा जोड दिएका थिए।
प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ।






















प्रतिक्रिया