सभामुख र महासचिवको विदेश भ्रमण, संसद् अधिवेशन अन्त्यको तयारी


काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे विदेश भ्रमणमा जाने भएपछि संघीय संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको खुलेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा संघीय संसद्को अधिवेशन अन्त्य गर्ने विषयमा निर्णय भएको थिएन। बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेको मन्त्रिपरिषद्का निर्णयमा पनि यो विषय उल्लेख थिएन।

तर, मन्त्रिपरिषद् बैठक सकिएलगत्तै सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह र महासचिव पाण्डेले मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई पटक–पटक फोन गरी अधिवेशन अन्त्य गरिदिन आग्रह गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार सभामुख र महासचिवको विदेश भ्रमणको कार्यक्रम तय भएकाले अधिवेशन अन्त्य गर्न आग्रह गरिएको थियो। त्यसपछि प्रधानमन्त्री शाहको सहमतिमा अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको स्रोतको दाबी छ।

अधिवेशन अन्त्यको सिफारिसबारे मन्त्रिपरिषद्का केही सदस्य भने अनभिज्ञ रहेको बताइएको छ। एक मन्त्रीले आफ्नो मन्त्रालयका दुई विधेयक संसद्मा दर्ता गर्ने तयारी भइरहेका बेला अधिवेशन अन्त्यको सिफारिस भएको जानकारी पाएपछि आफू आश्चर्यमा परेको बताएका छन्। उनका अनुसार मंगलबारको मन्त्रिपरिषद् बैठकमा अधिवेशन अन्त्यबारे छलफलसमेत भएको थिएन।

सभामुख अर्याल, महासचिव पाण्डेसहितको टोली अन्तर व्यवस्थापिका संघ (आईपीयू)को बैठकमा सहभागी हुन तान्जानिया जाने कार्यक्रम तय भएको छ। संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले आइतबार सभामुख, महासचिवसहितको टोलीको विदेश भ्रमण तय भएको जानकारी दिएका छन्।