काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद पोखरेलले सरकार सञ्चालनको शैलीलाई लिएर व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री शाहको सरकारलाई विभिन्न पाँच रूपसँग तुलना गर्दै कार्यशैली अस्वाभाविक रहेको दाबी गरे ।
पोखरेलले संसद्मा बहुमत प्राप्त दलको संसदीय दलको नेता भएकाले सरकार संवैधानिक देखिए पनि आफ्नै दलको बैठकमा सहभागी नहुने भन्दै ‘निर्दलीय सरकार’ जस्तो लागेको टिप्पणी गरे ।
त्यस्तै, सर्वदलीय बैठकमा सहभागी नहुने कार्यशैलीप्रति प्रश्न उठाउँदै उनले सरकार ‘एकदलीय’ जस्तो देखिएको बताए । सरकार भूमिगत गिरोहबाट सञ्चालित रहेको आरोप लगाउँदै उनले ‘पञ्चायती सरकार’ जस्तो देखिएको समेत टिप्पणी गरे ।
राष्ट्रपति तथा संवैधानिक निकायप्रति प्रधानमन्त्री शाहको दृष्टिकोणलाई लिएर पनि पोखरेलले प्रश्न उठाए । उनले राष्ट्रपतिलाई समेत नजरअन्दाज गर्ने कार्यशैली रहेको भन्दै व्यङ्ग्य गरेका हुन् ।
अन्त्यमा सांसद पोखरेलले प्रश्न गरे, ‘खासमा बालेन्द्र शाह नेतृत्वको यो कस्तो सरकार हो ?’
उनले सरकारले समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको तथा स्वेच्छाचारी ढङ्गले अघि बढिरहेको दाबीसमेत गरे ।






















प्रतिक्रिया