काठमाडौँ । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले वर्तमान सरकारको सुशासनको नारा र व्यवहारबीच तालमेल नमिलेको आरोप लगाएकी छन्। सरकारी निकायमा विवादास्पद नियुक्ति र लामो समयसम्म निमित्त प्रमुखको भरमा संस्था सञ्चालन गर्ने प्रवृत्तिले सरकारको सुशासनको दाबीमाथि प्रश्न उठाएको उनको भनाइ छ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खातुनले सरकारी निकायमा हुने नियुक्ति प्रक्रियामा ढिलासुस्ती र चलखेल बढेको आरोप लगाइन्। उनले नियुक्ति प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्नेमा आफ्ना निकट व्यक्तिलाई नियुक्त गर्न प्रक्रिया लम्ब्याउने गरिएको दाबी गरिन्।
नेपाल फार्मेसी परिषद्को नियुक्ति प्रक्रियालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले तोकिएको समयभित्र अन्तर्वार्तासमेत सम्पन्न भइसकेको अवस्थामा २१ दिन बितिसक्दा पनि नतिजा सार्वजनिक नगरिएको बताइन्। पुरानो प्रक्रिया रद्द गरेर नयाँ प्रक्रियामार्फत आफू निकट व्यक्तिलाई समेट्न खोजिएको भन्दै उनले आपत्ति जनाइन्।
‘सुशासनको नारा सरकारकै हो तर कस्तो सुशासन हो यो ? आफ्ना प्रिय पात्रहरूलाई नियुक्त गराउनकै लागि प्रक्रियालाई लम्ब्याउने र जनतालाई झुक्क्याउने काम भइरहेको छ,’ उनले संसद्मा भनिन्।
सरकारको यस्तो कार्यशैलीलाई उनले ‘दिउँसै रात पार्ने प्रवृत्ति’ को संज्ञा दिइन्। प्रक्रिया मिचेर गरिने नियुक्तिले कर्मचारीतन्त्रमा समेत नकारात्मक असर पार्ने उनको भनाइ थियो।
कतिपय सरकारी विभागमा एउटा निमित्त प्रमुख हुँदाहुँदै अर्को निमित्त ल्याउने तथा लामो समयसम्म निमित्तकै भरमा संस्था सञ्चालन गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिइन्। यस्तो अवस्थाले सरकारको सुशासनसम्बन्धी दाबीलाई नै कमजोर बनाएको उनको तर्क थियो।






















प्रतिक्रिया