काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा जगेडा हुने ८५.६ मेगावाटसम्म विद्युत् भारतमा बिक्री गर्ने निर्णय गरेको छ।
प्राधिकरणले आफ्ना ग्राहकलाई बिक्री गरेर बाँकी रहने विद्युत् भारतीय विद्युत् व्यापार कम्पनी टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेडमार्फत भारतको पावर एक्सचेन्जमा बिक्री गर्ने भएको हो। प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार यसका लागि विद्युत् खरिद–बिक्री सम्झौताको प्रक्रिया अघि बढाइएको छ।
विद्युत् खरिद–बिक्री सम्झौताको मस्यौदामाथि प्राधिकरण सञ्चालक समितिको असार २५ गतेको बैठकमा छलफल भएको थियो। त्यस क्रममा विद्युत् नियमन आयोगको परामर्श लिएर पुनः पेस गर्ने निर्णय गरिएको थियो।
विद्युत् नियमन आयोगले भदौ २ गते बसेको बैठकबाट भारतमा विद्युत् बिक्रीका लागि सहमति दिने निर्णय गरेको थियो। आयोगको निर्णयबारे प्राधिकरणले भदौ ८ गते जानकारी पाएपछि असोज ३ गते विद्युत् बिक्री गर्ने निर्णय गर्दै सम्झौताको मस्यौदा स्वीकृत गरेको हो।
आयोगको सहमतिपछि प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले १ नोभेम्बर २०२६ देखि ३१ मे २०२९ सम्म ८५.६ मेगावाट विद्युत् भारतको पावर एक्सचेन्जमार्फत बिक्री गर्न सम्झौताको मस्यौदा स्वीकृतिका लागि सञ्चालक समितिमा सिफारिस गरेका थिए।
भविष्यमा दुवै पक्षको आपसी सहमतिमा विद्युत् बिक्रीको क्षमता थप गर्न सकिने व्यवस्था पनि प्रस्तावित सम्झौतामा राखिएको छ।
कार्यकारी निर्देशक श्रेष्ठको सिफारिसअनुसार प्राधिकरण सञ्चालक समितिले विद्युत् बिक्रीसम्बन्धी निर्णय गरेको हो। सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले निर्णयमा हस्ताक्षर गर्दै सम्झौतामा प्राधिकरणका तर्फबाट हस्ताक्षर गर्न कार्यकारी निर्देशक श्रेष्ठलाई अख्तियारीसमेत दिएका छन्।






















प्रतिक्रिया