१२ प्रसारण लाइन यसै वर्ष सक्ने लक्ष्य, निर्माणका अवरोध हटाउँदै ऊर्जा मन्त्रालय


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको काममा देखिएका अवरोध हटाउँदै निर्माणलाई तीव्रता दिने भएको छ । मन्त्रालयले विभिन्न निकायसँग समन्वय गरी प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधान गर्न पहल थालेको हो ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय प्रसारण प्रणालीलाई बलियो बनाउन निर्माणाधीन आयोजनाको काम समयमै सम्पन्न गर्ने उद्देश्यले अवरोध हटाउन मन्त्रालयस्तरबाट समन्वय अघि बढाएका छन् ।

यसैक्रममा मन्त्रालयले बिहीबार निर्माणाधीन १२ वटा प्रसारण लाइन परियोजनाका प्रमुखलाई बोलाएर आयोजनाको प्रगति र समस्याबारे जानकारी लिएको थियो । परियोजना प्रमुखहरूले वन विभागबाट रुख कटानमा अवरोध तथा सडक विभागबाट पोल र टावर स्थानान्तरणका लागि आवश्यक समय नपाएको लगायतका समस्या राखेका थिए ।

नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरेपछि केही आयोजनामा देखिएका समस्या समाधान हुँदै निर्माणले गति लिन थालेको छ ।

प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख नवराज ओझाका अनुसार छलफलमा १२ वटै प्रसारण लाइनको निर्माण कार्य यसै वर्षभित्र सम्पन्न गर्ने जानकारी प्राप्त भएको छ । बैठकमा तुम्लिङटार–सितलपाटी २२० केभी, ढल्केबर–बाणगंगा १३२ केभी, कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी, नेपालगन्ज–नानपारा १३२ केभी, लालबन्दी–सलिमपुर १३२ केभी, इनरुवा–विराटनगर १३२ केभी, हेटौंडा–ढल्केबर ४०० केभी र कालीगण्डकी–रिडी १३२ केभीलगायत आयोजनाको प्रगति प्रस्तुत गरिएको थियो ।

इनरुवा–विराटनगर प्रसारण लाइनमा म्याद थपिए पनि ठेकेदारले काम अघि नबढाएपछि पेटी ठेकेदारलाई सम्पूर्ण भुक्तानी गरी तीन महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी समन्वय गरिएको छ । यस्तै, हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनमा देखिएको वनसम्बन्धी समस्या समाधान भइसकेको र आगामी कात्तिकसम्म आयोजना सम्पन्न हुने जानकारी दिइएको छ ।

ऊर्जामन्त्रीका प्रमुख सल्लाहकार अनिलकुमार अधिकारीका अनुसार निर्माणाधीन प्रसारण लाइनमध्ये केही आगामी ६ महिनाभित्र र बढीमा एक वर्षभित्र राष्ट्रिय ग्रिडमा जोडिने अवस्थामा छन् । ती प्रसारण लाइन सञ्चालनमा आएपछि सम्बन्धित क्षेत्रमा पटक–पटक विद्युत् जाने ट्रिपिङको समस्या कम हुने अपेक्षा गरिएको छ ।

मन्त्री श्रेष्ठले अन्तरमन्त्रालयसँग सम्बन्धित समस्या तत्काल समन्वय गरी समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । उनले प्रसारण लाइनलाई ऊर्जा प्रणालीको मुख्य आधारका रूपमा उल्लेख गर्दै आयोजना प्रमुखलाई निर्माण कार्य समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । निर्माणका क्रममा थप समस्या देखिए तत्काल मन्त्रालयलाई जानकारी गराउन र समाधानका लागि मन्त्रालयसँग समन्वय गर्न उनले आग्रह गरेका छन् ।