म्यादी प्रहरीको पोसाक खरिदमा लेखा समितिको मौनता किन ? सुनारको प्रश्न


काठमाडौँ । सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा सार्वजनिक लेखा समितिको भूमिकामाथि प्रश्न उठाउँदै घटनाको गहन र निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

शुक्रबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले कपडा खरिदमा अनियमितताको विषय सार्वजनिक भइसके पनि समितिले प्रभावकारी रूपमा चासो नदिएको भन्दै असन्तुष्टि जनाए। उनका अनुसार प्रकरणसम्बन्धी कागजात १५ दिनभित्र उपलब्ध गराउन भनिए पनि फाइल प्राप्त भए–नभएको जानकारीसमेत समितिका सदस्यलाई दिइएको छैन।

सुनारले आफूले व्यक्तिगत रूपमा चासो दिएर विषयको खोजी तथा छानबिन गर्दा गम्भीर त्रुटिसम्बन्धी प्रमाण फेला परेको दाबी गरे। उनले सम्बन्धित प्रमाण कहाँ र कसरी बुझाउने तथा त्यसबारे समितिले के प्रक्रिया अघि बढाएको छ भन्ने विषयमा सभापतिले स्पष्ट पार्नुपर्ने बताए।

प्रहरी महानिरीक्षक र सम्बन्धित टोलीको भूमिकामाथि समेत प्रश्न उठाउँदै सुनारले प्राप्त प्रमाणको निष्पक्ष छानबिन आवश्यक रहेको बताए। ‘म्यादी प्रहरीको कपडा खरिदको सन्दर्भमा यत्रो ठूलो विषय उठ्यो, तर सार्वजनिक लेखा समितिमा भने तैँ चुप, मैँ चुपको अवस्था छ,’ उनले भने, ‘देश नै हल्लिने यत्रो गम्भीर विषयमा हामी यसरी चुप लागेर बस्न मिल्छ ?’

विगतको सुडान काण्डको प्रसङ्ग उल्लेख गर्दै सुनारले त्यसबेला छानबिन समिति गठन गरी प्रतिवेदन तयार पारिएको र भ्रष्टाचार मुद्दा अघि बढेको स्मरण गराए। सार्वजनिक लेखा समितिले कुनै पनि बहानामा छानबिनबाट पछि हट्न नहुने उनको भनाइ थियो।

समितिमा विधिवत् रूपमा उजुरी परेको र छानबिनका क्रममा अनियमिततासम्बन्धी प्रमाण फेला परेको अवस्थामा आवश्यक सिफारिससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउनुपर्ने उनले बताए। म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा छानबिनका लागि पूर्ण बैठकबाट निर्णय गर्ने वा छुट्टै उपसमिति गठन गर्ने विषयमा तत्काल स्पष्ट निर्णय लिन उनले सभापतिसँग माग गरे।

सुनारले सार्वजनिक लेखा समितिको गरिमा र प्रभावकारिता कायम राख्दै जनताप्रति जवाफदेही भएर काम गर्नुपर्नेमा जोड दिए। समितिले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसके त्यसको जिम्मेवारी लिन आफूहरू तयार रहेको समेत उनले बताए।