काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले झापाका जनता जंगली हात्तीको त्राससँगै सुकुमबासी समस्याबाट समेत गम्भीर रूपमा पीडित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले दसैँ नजिकिँदै गर्दा किसानहरू बाली जोगाउन रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताइन्। बाली भित्र्याउने समयमा हात्तीको आतंक बढेकाले त्यसबाट हुने क्षति नियन्त्रण गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने उनको माग छ।
राना मगरले हात्ती नियन्त्रणका लागि सरकारले गर्दै आएका प्रयास प्रभावकारी हुन नसकेको टिप्पणी गर्दै त्यसलाई ‘हात्ती आयो हात्ती आयो फुस्स’ जस्तै भएको बताइन्। हात्तीबाट प्रभावित किसानलाई तत्काल उचित राहत उपलब्ध गराउनसमेत उनले सरकारसँग माग गरिन्।
उनले झापाका सुकुमबासी नागरिकको जग्गासम्बन्धी समस्या पनि गम्भीर रहेको बताइन्। जग्गाको निस्सा पाइसकेका नागरिकलाई समेत पुनः नापीको नाममा दुःख दिने काम भइरहेको भन्दै उनले असन्तुष्टि जनाइन्। निस्सा पाइसकेका नागरिकलाई अब प्रक्रिया लम्ब्याएर हैरानी नदिई तत्काल लालपुर्जा उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।
केही स्थानीय तहबाट ‘माथिबाट आदेश आएको’ भन्दै नागरिकमा भ्रम सिर्जना गर्ने काम भइरहेको जनगुनासो आएको उल्लेख गर्दै राना मगरले यस विषयमा सम्बन्धित मन्त्रालयले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताइन्।
‘किसानहरू अहिले बाली जोगाउन रातभर निद्रा त्यागेर हात्ती रुङ्न बाध्य छन्, तर सरकारबाट ठोस राहतको प्रत्याभूति हुन सकेको छैन,’ उनले भनिन्, ‘निस्सा पाइसकेका सुकुमबासीले अब छिटो लालपुर्जा पाउनुपर्छ। प्रक्रियामाथि प्रक्रिया थपेर उनीहरूलाई थप कष्ट दिनु हुँदैन।’
सांसद राना मगरले हात्तीबाट पीडित किसानलाई तत्काल राहत र लालपुर्जाको पर्खाइमा रहेका सुकुमबासीलाई जग्गाको स्वामित्व प्रमाणपत्र उपलब्ध गराउने गरी सरकारले स्पष्ट कार्ययोजना ल्याउनुपर्ने माग गरिन्।






















प्रतिक्रिया