कर्णालीका मुख्यमन्त्री शाहीसँग ७ गाई–गोरु, २० तोला सुनचाँदी


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मुख्यमन्त्री नियुक्त भएको ६३ दिनसम्म पनि सम्पत्ति विवरण सार्वजनिक नभएको भन्दै समाचार प्रकाशित भएपछि शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा सार्वजनिक विवरणअनुसार शाहीको नाममा मुगुमा जग्गा, सुनचाँदी, बैंक मौज्दात तथा विभिन्न चल सम्पत्ति रहेको उल्लेख छ। परिवारका सदस्यका नाममा समेत घरजग्गा र सवारीसाधन रहेको विवरणमा जनाइएको छ।

विवरणअनुसार शाहीकी आमा ऐशा शाहीको नाममा मुगुको सोरु गाउँपालिका–६ मा २ हजार ९४३.५० वर्गमिटर क्षेत्रफलमा फैलिएको घर रहेको छ। उक्त घरको स्रोत पैतृक सम्पत्ति उल्लेख गरिएको छ। यस्तै, छोरी उस्मिता शाहीको नाममा साविक श्रीनगर गाविस–४ मा ५६.२५ वर्गमिटर क्षेत्रफलको अर्को घर रहेको छ। उक्त घरको स्रोत बकसपत्रबाट प्राप्त भएको उल्लेख छ।

मुख्यमन्त्री शाहीको नाममा साविक जिमा गाविस–९ मा ४०२ वर्गमिटर जग्गा रहेको छ। उनकी श्रीमती नारायणदेवी शाहीको नाममा साविक श्रीनगर गाविस–४ मा ४२४ वर्गमिटर जग्गा रहेको विवरणमा उल्लेख छ। उक्त जग्गा २० लाख रुपैयाँमा खरिद गरिएको र खरिदको स्रोत व्यवसायबाट प्राप्त आम्दानी रहेको जनाइएको छ।

शाहीकी आमाको नाममा साविक जिमा गाविसका विभिन्न वडामा २२ भन्दा बढी कित्ता जग्गा रहेको छ। ती जग्गाको स्रोत पैतृक सम्पत्ति उल्लेख गरिएको छ।

१० तोला सुन र १० तोला चाँदी

सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री शाहीसँग १० तोला सुन र १० तोला चाँदी रहेको छ। सुनमध्ये ४ तोला पैतृक सम्पत्ति रहेको उनले उल्लेख गरेका छन्।

त्यस्तै, २०५३ सालमा शिक्षकको तलबबाट ५० हजार रुपैयाँमा २ तोला सुन खरिद गरेको विवरणमा उल्लेख छ। २०७५ सालमा व्यवसायबाट प्राप्त आम्दानीबाट ४० हजार रुपैयाँमा १ तोला, २०८० सालमा पारिश्रमिकबाट ९० हजार रुपैयाँमा १ तोला र २०८१ सालमा पारिश्रमिकबाट २ लाख ४० हजार रुपैयाँमा थप २ तोला सुन खरिद गरेको जनाइएको छ।

शाहीको बैंक खातामा २ लाख रुपैयाँ मौज्दात रहेको छ। उक्त रकमको स्रोत सरकारी सुविधा उल्लेख गरिएको छ। उनको नाममा कुनै कम्पनीको सेयर, ऋणपत्र वा अन्य धितोपत्र नरहेको सम्पत्ति विवरणमा जनाइएको छ।

१८ लाख ऋण

शाहीले कृषि विकास बैंक, मुगुबाट २०७९ असार २८ गते १८ लाख रुपैयाँ ऋण लिएको विवरणमा उल्लेख गरेका छन्। उक्त ऋणमध्ये केही रकम भुक्तानी गरिसकेको जनाइएको छ।

सवारीसाधनतर्फ उनकी छोरी उस्मिता शाहीको नाममा २०७५ सालमा २ लाख ३५ हजार रुपैयाँमा खरिद गरिएको सुजुकी स्कुटर रहेको छ। शाहीको नाममा चारपाङ्ग्रे निजी सवारीसाधन भने नरहेको विवरणमा उल्लेख छ।

पशुधनतर्फ मुख्यमन्त्री शाहीसँग ७ वटा गाई/गोरु रहेको उल्लेख गरिएको छ।

यस्तै, उनको सम्पत्ति विवरणमा ९० हजार रुपैयाँ मूल्यको सामसुङ मोबाइल, ६० हजार रुपैयाँको भिभो मोबाइल, १ लाख १० हजार रुपैयाँको क्यामरा र ९० हजार रुपैयाँ मूल्यको ल्यापटप रहेको जनाइएको छ।