काठमाडौँ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित सांसदका मौखिक तथा लिखित प्रश्नको जवाफ प्रस्तुत हुनुका साथै संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेस गरिएका छन्।
बैठकमा मन्त्रीहरूले सम्बन्धित मन्त्रालयका तर्फबाट सांसदहरूले उठाएका प्रश्नको जवाफ सदनसमक्ष प्रस्तुत गरेका हुन्।
राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद ८ बमोजिम सञ्चालित प्रश्नोत्तर कार्यक्रममा सांसद जगत तिमिल्सिनाले अर्थ मन्त्रालयसँग सम्बन्धित सोधेको मौखिक प्रश्नको जवाफ अर्थमन्त्रीको तर्फबाट गृहमन्त्री सुदन गुरुङले सदनसमक्ष प्रस्तुत गरे।
यस्तै, गृह मन्त्रालयसँग सम्बन्धित सांसद पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा र श्रीकृष्णप्रसाद अधिकारीले उठाएका प्रश्नको जवाफ पनि गृहमन्त्री गुरुङले नै दिए।
पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित सांसद मदनकुमारी साह र पदमबहादुर परियारका मौखिक प्रश्न तथा सांसद सोमनाथ पोर्तेलले सोधेको लिखित प्रश्नको जवाफसमेत गृहमन्त्री गुरुङले सदनमा पेस गरेका थिए।
बैठकमा प्रस्तुत भएका प्रश्नका लिखित जवाफ सांसदहरूको अध्ययनका लागि ‘पिजन हल’मा राखिएको राष्ट्रिय सभा अध्यक्षले जानकारी गराए।
संवैधानिक निकायका प्रतिवेदन पेस
बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०८३ राष्ट्रिय सभासमक्ष पेस गरिन्।
उनले निर्वाचन आयोग र मुस्लिम आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनसमेत सदनमा पेस गरिन्।
यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाले समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभासमक्ष पेस गरेका छन्।
बैठकमा सांसदका प्रश्नको जवाफ तथा विभिन्न संवैधानिक निकाय र संसदीय समितिका वार्षिक प्रतिवेदन पेस भएसँगै सम्बन्धित विषयमा थप अध्ययन तथा छलफलका लागि प्रक्रिया अघि बढाइएको छ।






















प्रतिक्रिया