काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले संसद् अधिवेशन अन्त्य भएपछि सरकारले अध्यादेशमार्फत आवश्यक काम अघि बढाउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले संसदीय प्रक्रियामा सुधार आवश्यक रहेको बताए। उनले आफ्नो निर्वाचन क्षेत्र मोरङ–३ का जनताले आफूलाई विभिन्न एजेन्डासहित संसद्मा पठाएको उल्लेख गर्दै स्थानीय तहमा लामो समयदेखि समाधानको प्रतीक्षामा रहेका समस्या छिटो सम्बोधन हुनुपर्ने धारणा राखे।
उनका अनुसार विद्यमान संसदीय प्रक्रियाबाट कतिपय स्थानीय समस्या तत्काल समाधान गर्न कठिन भइरहेको छ। विशेषगरी आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित भूमिको समस्या समाधानका लागि संसद्को नियमित प्रक्रिया पर्याप्त प्रभावकारी नभएको उनको भनाइ थियो।
‘समाधान पर्खिएका हाम्रा स्थानीय समस्याहरू छन्। हाम्रो संसदीय प्रक्रियाको सुधार अत्यावश्यक छ,’ कार्कीले भने, ‘संसद्को नियमित प्रक्रिया मेरो क्षेत्रको भूमिको समस्यालाई छिटो समाधान दिन सक्ने गरी निर्माण भएको छैन।’
उनले विद्यमान संसदीय व्यवस्थाले तत्काल सम्बोधन गर्नुपर्ने कतिपय विषयमा अध्यादेशबाहेक अर्को बाटो नरहेको दाबी गरे।
‘हाम्रो संसदीय व्यवस्थाले त्यसलाई अध्यादेशभन्दा अर्को बाटो रोजेकै छैन, राखेकै छैन,’ उनले भने।
सांसद कार्कीले संसद् अधिवेशन अन्त्य भए पनि जनतासँग प्रत्यक्ष जोडिएका समस्या समाधान गर्ने काम रोकिन नहुने बताए। आवश्यक कानुनी व्यवस्था गर्न सरकारले अध्यादेशमार्फत काम अघि बढाउनुपर्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।
उनले संसदीय प्रक्रियालाई समयानुकूल र जनताका समस्या छिटो सम्बोधन गर्न सक्ने बनाउनेतर्फ समेत सुधार आवश्यक रहेको बताए।






















प्रतिक्रिया