काठमाडौं । सरकारले उपचारपछिको पुनःस्थापना सेवा देशभर विस्तार गर्ने उद्देश्यले सातै प्रदेशमा पुनःस्थापना केन्द्र (रिह्याबिलिटेसन सेन्टर) स्थापना गर्ने तयारी अघि बढाएको छ।
शल्यक्रिया, पक्षघात, मेरुदण्डको चोट तथा अन्य गम्भीर रोगको उपचारपछि आवश्यक पर्ने दीर्घकालीन हेरचाह र पुनःस्थापनामा बिरामीको पहुँच सहज बनाउने उद्देश्यले सरकारले यस्तो योजना अघि सारेको हो।
हाल नेपालमा विशेष पुनःस्थापना सेवाहरू मुख्यतः काठमाडौं उपत्यका तथा केही सीमित सहरी क्षेत्रमा केन्द्रित छन्। यसका कारण दुर्गम तथा ग्रामीण क्षेत्रका बिरामीले उपचारपछि आवश्यक फिजियोथेरापी, अकुपेसनल थेरापी, मानसिक परामर्शलगायतका सेवा लिन राजधानी वा अन्य ठूला सहर धाउनुपर्ने बाध्यता रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशस्तरमा पुनःस्थापना केन्द्र सञ्चालनमा आएपछि बिरामीले आफूलाई पायक पर्ने स्थानबाट उपचारपछिको आवश्यक सेवा लिन सक्नेछन्। केन्द्रमार्फत फिजियोथेरापी, अकुपेसनल थेरापी, मानसिक परामर्श तथा अन्य पुनःस्थापनासम्बन्धी सेवा उपलब्ध गराउने तयारी छ।
विशेषगरी पक्षघात, मेरुदण्डमा चोट तथा जटिल शल्यक्रियापछि लामो समयसम्म नियमित पुनःस्थापना सेवा आवश्यक पर्ने बिरामीलाई यसबाट प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। अहिले यस्ता सेवाका लागि टाढा जानुपर्ने अवस्थाका कारण धेरै बिरामी उपचारको निरन्तरता कायम गर्नसमेत कठिनाइमा पर्ने गरेका छन्।
संघीय संरचनाअनुसार स्वास्थ्य सेवाको विकेन्द्रीकरण गर्दै नागरिकलाई घरपायकमै गुणस्तरीय सेवा उपलब्ध गराउने सरकारको योजनाअन्तर्गत प्रदेशमा पुनःस्थापना केन्द्र स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ।
सातै प्रदेशमा केन्द्र सञ्चालनमा आएपछि उपचारपछि घर फर्किएका बिरामीलाई नियमित पुनःस्थापना सेवा लिन सहज हुने र दीर्घकालीन रूपमा उनीहरूको दैनिक जीवनयापन तथा शारीरिक क्षमतामा सुधार ल्याउन सहयोग पुग्ने सरकारको अपेक्षा छ।






















प्रतिक्रिया