काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश अणेश्वरी घिमिरेले शुक्रबार प्रसाईंलाई सोमबार अनुसन्धान प्रतिवेदन पेस गर्ने सर्तमा थप एक दिन हिरासतमा राख्न अनुमति दिएकी हुन्।
यसअघि अदालतले दुई पटक गरी प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। पछिल्लो आदेशसँगै उनको हिरासत अवधि थप एक दिन लम्बिएको हो।
अदालतले प्रसाईंविरुद्ध भइरहेको अनुसन्धान पूरा गरी सोमबार अनुसन्धान प्रतिवेदन पेस गर्न आदेश दिएको छ। प्रहरीले सोहीअनुसार अनुसन्धान पूरा गरी प्रतिवेदन अदालतमा बुझाउने तयारी गरेको छ।
प्रसाईंलाई असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रहरीले उनीमाथि विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार प्रसाईंले युट्युबमार्फत सांसद खतिवडाका छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेका थिए। उक्त अभिव्यक्तिलाई लिएर सांसद खतिवडाले उजुरी दिएपछि प्रहरीले प्रसाईंमाथि अनुसन्धान अघि बढाएको हो।
अब प्रहरीले अनुसन्धान प्रतिवेदन सोमबार अदालतमा पेस गर्नेछ। त्यसपछि अभियोजन अघि बढाउने वा नबढाउने विषयमा सम्बन्धित कानुनी प्रक्रियाअनुसार निर्णय हुनेछ।






















प्रतिक्रिया