काठमाडौँ । पशुपतिनाथ मन्दिरको मुख्य मन्दिरभित्र प्रवेश गरी टिकटक बनाएको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–८ का ३१ वर्षीय आसिम अन्सारी र उनकी ३१ वर्षीया पत्नी प्रियंका परियार रहेका छन्। उनीहरूलाई सुनसरी प्रहरीले इटहरी–८ स्थित रङ्गशालाबाट पक्राउ गरेको हो।
प्रहरी वृत्त गौशालाको पत्रका आधारमा सुनसरी प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर सुनसरीका एक प्रहरी अधिकृतले जानकारी दिए। पक्राउपछि दुवै जनालाई आवश्यक अनुसन्धानका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आसिम र प्रियंकाले केही दिनअघि पशुपतिनाथ मन्दिरको मुख्य मन्दिरभित्र प्रवेश गरी भिडियो बनाएका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीहरूको मन्दिर प्रवेशलाई लिएर आलोचना भएको थियो।
भिडियोमा आसिमले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिएको थियो। सोही विषयलाई लिएर सामाजिक सञ्जालमा समेत प्रश्न उठाइएको थियो।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया काठमाडौँबाट अघि बढाइने प्रहरीले जनाएको छ।

















प्रतिक्रिया