त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोट पुग्यो


काठमाडौँ । त्रिशूली–भोटेकोशी महाविपद् अध्ययन विशेष संसदीय समितिको टोली नुवाकोटको विदुर नगरपालिका पुगेको छ।

समितिको टोलीले विदुरस्थित नेपाली सेनाको ब्यारेकमा विपद् व्यवस्थापन समन्वयमा खटिएका तीनै तहका सरकारका प्रतिनिधिसँग भेट गरी विपद् र त्यसपछिको अवस्थाबारे जानकारी लिएको छ।

समिति सभापति गणेश पराजुलीका अनुसार टोलीले खोज तथा उद्धारको अवस्था, राहत वितरण, अस्थायी आश्रय, आधारभूत सेवा तथा सम्पर्क सञ्जालको पुनःस्थापना, सुरक्षित पुनःस्थापना तथा पुनर्वासका लागि भइरहेका तयारीबारे जानकारी लिएको हो।

त्यसैगरी, दिगो पुनर्निर्माण तथा आगामी दिनमा विपद्को जोखिम न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायबारे स्थानीय प्रतिनिधिहरूबाट सुझाव संकलन गरिएको छ।

सुझाव दिने क्रममा स्थानीय प्रतिनिधिहरूले आधारभूत सेवा र सम्पर्क सञ्जाललाई तत्काल पुनःस्थापित गर्नुपर्नेमा जोड दिएका छन्। आवश्यक परे कानुन संशोधन गरेर भए पनि प्रभावित क्षेत्रका समस्या सम्बोधन गर्न उनीहरूले आग्रह गरेका छन्।

गत भदौ १० गते गएको त्रिशूली–भोटेकोशी विपद्ले पारेको प्रभाव, क्षति तथा त्यसपछिको व्यवस्थापनको अवस्थाबारे अध्ययन गर्न गणेश पराजुलीको नेतृत्वमा विशेष संसदीय समिति गठन गरिएको हो। समितिले विभिन्न प्रभावित क्षेत्रमा पुगेर स्थलगत अध्ययन तथा सरोकारवालासँग छलफल गर्दै आएको छ।