टिकटकमा पोस्ट गरिएको भिडियोका आधारमा कन्सल्टेन्सी सञ्चालक पक्राउ


काठमाडौँ । दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एक कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ‘न्यू सफल ग्लोबल कन्सल्टेन्सी’का सञ्चालक नुवाकोटको बेलकोटगढी नगरपालिका–११ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–२६ सामाखुसी बस्दै आएका २८ वर्षीय गणेश पाण्डे रहेका छन्।

प्रहरीका अनुसार कन्सल्टेन्सीले आफ्नो छोरालाई दक्षिण कोरिया पठाइदिने भन्दै रकम लिएर दुई वर्षदेखि अलपत्र पारेको आरोप लगाउँदै एक महिलाले सामाजिक सञ्जाल टिकटकमा भिडियो सार्वजनिक गरेकी थिइन्।

उनले प्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष कारबाहीको माग गर्दै भिडियो सार्वजनिक गरेपछि प्रहरीले उक्त विषयलाई आधार बनाएर अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा प्रहरीले पाण्डेलाई असोज २० गते काठमाडौँको रानीबारी चोकबाट नियन्त्रणमा लिएको हो। उनलाई ठगीसम्बन्धी कसुरमा पक्राउ गरी थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रहरीले पीडितको उजुरी तथा भिडियोमा उठाइएको विषयका आधारमा घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। कन्सल्टेन्सीले विदेश पठाउने नाममा रकम लिएर सेवाग्राहीलाई अलपत्र पारेको हो वा होइन भन्ने विषय अनुसन्धानपछि थप स्पष्ट हुने प्रहरीले जनाएको छ।